दुर्योधन दम्भबाट निम्तने विनाश मात्र त हो

72

–चन्द्रप्रकाश बानियाँ

नेकपा भित्रको कचिङ्गल अप्ठेरो मोडमा पुगेको छ । दुई अध्यक्षहरुबीच पत्र–क्षेप्यास्त्र हानाहान चलेको छ । पार्टी कमिटीहरुको बैठक बस्न नसक्ने अवस्था उत्पन्न भएको छ । पार्टीभित्र रडाको चलेकै बेला प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाए । सन्दर्भ सडकमा उर्लिएको राजा फर्काउने आन्दोलनको थियो । उसो त आन्दोलनबाट तर्सिनुपर्ने अवस्था उत्पन्न भैसक्यो भन्नु अधिमूल्याङ्कन हुन्थ्यो । पार्टीभित्र र पार्टीबाहिरको कचिङ्गले कुर्ची हल्लिएको अनुभुति भयो होला । प्रमका लागि कुर्चीभन्दा प्यारो वस्तु यतिखेर अरु केही छैन भन्ने कुरा ओछयानमै सुतेर सरकार सञ्चालन गर्न थालेको वर्षदिनभन्दा बढी भैसकेबाट छर्लङ्ग भैसकेकै छ । त्यसैले हुनुपर्छ प्रधानमन्त्रीले अकस्मात सर्वदलीय बैठक आह्वान गर्दा मानिसहरुले अनेक लख काट्न थालेका थिए ।

कसैकसैले त प्रधानमन्त्रीले “राष्ट्रिय सरकार”को प्रस्ताव गर्नेछन् भनेर पनि अनुमान गर्न थालेका थिए । पार्टीभित्रबाट अप्ठेरो पर्न थालेपछि दलविभाजन सम्बन्धी अध्यादेश ल्याउने हतारो गर्ने प्रधानमन्त्रीले त्यसो नगर्लान् भन्न सकिने ठाउँ थिएन । तर मानिसहरुको अनुमान सत्य सावित भएन । कमसेकम प्रधानमन्त्रीले त्यस्तो तुरुप फ्याकेनन् ।

मुलुक हाँक्ने नेताले सपना देख्नुपर्छ । सपना नदेख्ने नदेखाउनेले गर्न पनि केही सक्तैन । कमसेकम ओलीले ग्यास, विजुली, रेल हुँदै पानीजहाजसम्मको सपना आफुले देखेकै हुन् । नेपाली जनतालाई पनि देखाएकै हुन् । मानिसहरुले उनको प्रशंसाका अनेकौ. पुल बाँधेकै पनि हुन् । अन्ध समर्थनमा वेसुरा राग अलापेकै हुन् । ताली ठोकेकै हुन् । हो अवश्य, नेतृत्वले सपना देख्नुपर्छ । संगसंगै सपना पूरा गर्ने भरपर्दो योजना बनाउनुपर्छ । बोली पुरा हुने भरोसा दिलाउन सक्नुपर्छ । घरघरमा ग्यासका पाइप पु¥याइदिने गफ चुटेको तीन चार बर्ष बितिसक्यो, योजनाको प्रारम्भ भएको छैन ।

हावाबाट विजुली निकाल्ने तयारी पनि कतै देखिदैन । रेल कुदाउनका लागि पटरी विछयाउने कुरा त परैरहोस्, डिटेल सर्भे भएको पनि छैन । मुलुकलाई दुई वर्षमै खाद्यान्नमा आत्मनिर्भर बनाउने गफ दिएको सरकारले देशमा मल कारखाना खोल्ने कुरा त परै रहोस् आवश्यक मात्रामा विश्वबजारबाट किनेर ल्याउन पनि सकेको छैन । झण्डै तीन बर्ष गुजारेको प्रमको दोश्रो कार्यकाल “अन्योल र गजँडी गफ” मै बितेको छ भन्नु आग्रह मानिने छैन ।

खुसी भएपछि भगवानहरुले आफ्ना प्रिय भक्तजनहरुलाई मनमाफिक वरदान दिन्थे भन्ने कुरा पुराणकथाहरुमा लेखिएको भेटिन्छ । हाम्रा प्रधानमन्त्रीले पनि आफूलाई असाधारण सिद्धि प्राप्त भएको देवपुरुष ठानेजसरी अनेक सम्भव असम्भव सपना र कल्पनाका नौरङ्गी कथाहरु सुनाएका थिए । “समुद्रमा नेपाली झण्डा फहराउने” घोषणा गर्न भ्याएका थिए । भारतको बाटो प्रयोग गर्ने हो भने समुद्रसम्म पुग्न एक हजार किलोमिटर जमिन छिचोल्नुपर्छ । चीनले दिन्छु भनेको पारवहनविन्दू त झन् पैतिस सय किलोमिटरभन्दा पनि अझ टाढा छ ।

चीन र भारतले हाम्रो सिमासम्म ल्याइपु¥याइदिने मालसामान ढुवानी गर्नका लागि आदमको जमानाका थोत्रा कन्टेनर र ट्रकहरु उपयोग गर्नुपर्ने टिठलाग्दो अवस्था देशको छ ! नेपालीहरुले उपभोग गर्ने विदेशी उत्पादनमध्येको उनान्सय प्रतिशतभन्दा बढी भारत र चीनले आपूर्ति गरिदिन्छन् । त्यही उनान्सय प्रतिशत बस्तुको ढुवानी गर्ने भरपर्दो व्यवस्था गर्न सकिएको छैन । समुद्रपारबाट आउने बाँकी एक प्रतिशतका लागि पानीजहाज किन्ने र हिन्दमहासागरमा नेपाली झण्डा फहराउने कुरा सनकभन्दा बढी केही थिएन भन्न धक मान्नु पर्दैन ।

सत्तामादले मानिसलाई अन्धो मात्रै होइन बहिरो पनि बनाउँदो रहेछ । ढोंगी, दम्भी र अविवेकी समेत बनाउँदो रहेछ । गद्दीनसीन हुनासाथ मान्छेले आफूलाई “सुपरम्यान” ठान्न थाल्दो रहेछ । आफूमा दैवी शक्ति रहेको भ्रम चढ्दो रहेछ । आफूलाई शर्वशक्ति सम्पन्न ठान्दो रहेछ । वाणीमा सिद्धि चढेको मिथ्याभ्रम पाल्न थाल्दो रहेछ । त्यसैले सत्तामातमा उन्मत्त मानिसले “गर्नुपर्ने नपर्ने” सबै कुरा गर्न तम्सिँदो रहेछ । “बोल्न हुने नहुने” कुराहरु बोल्न थाल्दो रहेछ । त्यसको अब्बल उदाहरण नेपालका सैतीसौंं प्रधानमन्त्रीमा स्पष्ट देखिन थालेको थियो । सायद पुरानो जमानामा भैदिएका भए तरबार हातमा लिएर मानिसहरु सोत्तर पार्दै हिड्थे होलान् । अब जमाना उस्तै रहेन । तैपनि मुखले संसार फाड्नमा भने उनी अद्वितीय उदाहरण बनेकै हुन्÷छन् ।

सरकारको पतनपछि अर्को नयाँ सरकारको निर्माणको तयारी हुनु स्वाभाविक हो । विडम्बना कस्तो देखिएको छ भने सरकारले बहुमत गुमाएको पनि छैन । संसदमा अविश्वासको प्रस्ताव आउने सम्भावनै छैन । संसदीय दलको नेता फेर्ने हल्लासम्म चलेको छैन । तैपनि सरकार हल्लिएको अनुभूति भैरहेको छ । प्रधानमन्त्रीलाई कुर्ची बचाउन धौ धौ परिरहेजस्तो देखिन्छ । नेतै पिच्छे पद र हैसियत वितरणको तमासा चलिरहेको छ । दुई चार जनाले प्रम र केही थान महत्वाकांक्षी मान्छेहरुले पार्टीको अध्यक्षको आश्वासन पाइसके भनिन्छ । पार्टी र सरकारको नेतृत्व अनौपचारिक रुपमा चयन हुन थालेको हल्ला चलिरहेको छ । ‘जनताले आफैले छानेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्छन्’ भन्ने प्रजातान्त्रिक व्यवस्थाको मूलभूत मान्यता हो । नेपाली जनताले प्रत्यक्ष निर्वाचनमार्फत कसैलाई प्रधानमन्त्री चुनेका होइनन् । प्रधानमन्त्रीको चुनाव संसदीय दलले गर्ने अवसर पाएको पनि होइन । प्रधानमन्त्रीको सपथ अवैधानिधक रुपमै भएको हो । तैपनि संसदीय दलले नेता छान्न पाउनुपर्ने दावा गरेन , गरेको छैन । कहिले कहीँ आफैले तमसुक गरिदिएका साहुहरुले कर्जाको साँवा व्याज चुक्ता गर्नुपर्नेे माग गरेका हुन् । त्यस्तो दावा पनि विधिवत छोडियो रे भन्ने हल्ला सुनिएको पनि हो । फेरि केको रडाको हो कुन्नी ?

जहाँसम्म जनताको कुरा हो । जनतालाई सधै हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने अवसर मिल्दैन । व्यवस्था नै यस्तै हो । असन्तोष र अस्वीकृती सार्वजनिक गर्न मतदाताले अर्को निर्वाचनसम्म कुर्नु पर्छ । यो संसदीय व्यवस्थाकोे कालो पाटो हो । जनता निरीह छन् । जनताले सत्ता परिवर्तन खोजेका छन् भन्न मिल्दैन । सडकमा यतिखेर देखिएको भिड सरकारको विपक्षमा उत्रिएको होइन । त्यो त व्यवस्थाको विरोधको आन्दोलन हो । पानी धमिलो देखिएको हुनाले तैपनि माछा हात लाग्छ कि भनेर गरिएको चेष्टा हो । पराजित शक्ति सधै मौकाको खोजीमा रहन्छ ।

यसपटक त्यही पराजित शक्तिले दुलोबाट टाउको निकालेको मात्र हो । त्यसबाट तर्सिहाल्नुपर्ने जरुरत छैन । प्रधानमन्त्रीलाई त्यस्तो सम्भावनाले तर्साएको पनि होइन । बरु उनको आफ्नै अवस्था पार्टीमा दिनानुदिन कमजोर हुदै जान थालेको चिन्ताको परिणाम हो । आफ्नो विरुद्ध संगठित हुँदै गएको आन्तरिक गुटबन्दीले उत्पन्न गरिदिएको अत्यासको परिणाम हो ।

घटना २०६० साल चैत्रको अन्तिम सातातिरको हो । भारतको उत्तर प्रदेशको कुनै यौटा सानू दुर्गम गाउँका चारजना महामूर्खहरुले ज्युँदै स्वर्ग जान पाउने लोभमा परेर आफ्नो सम्पूर्ण जायजेथा कुनै पाखण्डी महात्मालाई सुम्पेको समाचार लखनौबाट प्रकाशित हुने पत्रपत्रिकामा सार्वजनिक भएको थियो । नेकपाका नेताहरुको यतिखेरको चेष्टा तिनै अन्ध आस्था राख्ने भारतीय गवाँरहरुको जस्तो देखिएकोा छ । वर्तमान सरकार निर्माण हुँदाका दिनदेखि नै यस्को आयुको बारेमा शंका उपशंका गर्न थालिएको हो । त्यो सिलसिला अझै रोकिएको छैन । दुई बर्षमै सत्ताको नेतृत्व परिवर्तन हुन्छ भन्ने हल्ला चलेको हो तर तोकिएको आयुसिमा यसले नाघी सकेको छ । दुई नेताबीच पाँचै वर्ष सरकारको नेतृत्व नफेर्ने सहमति भयो भनिएको हो । तर फेरि कचिङ्गल सुरु भएको छ ।

सरकार “आजै ढल्छ, भोलि नै ढलिहाल्छ” भन्नेहरु पनि छन् । ढल्दैन भन्नेहरु पनि छन् । व्यवहारले प्रधानमन्त्रीलाई भने निकै तर्साएको छजस्तो देखिन्छ । डर नभैदिएको भए पार्टी बैठकमै नजाने ढिपी सायदै कस्दा हुन् । उनको आफ्नै कायरता प्रदर्शनले सरकार कामचलाउ जस्तो बेनको छ । सरकार आफै नचल्ने अवस्थामा पुगिसकेको छ ।

प्रधानमन्त्रीको पदमाथि पार्टीले धावा बोल्नु भनेको आफ्नै मुखमा मोहलो लगाउनु हो । सरकार ढलाउन खोज्दा पार्टी विखण्डन हुनसक्छ । कुर्चीमा धावा बोल्ने हो भने कुर्चीको खुट्टा भाँिचदिने धमास दिने यिनै प्रधानमन्त्री हुन् । आफ्नो हातबाट सत्ता खोसिने हो भने प्रधानमन्त्रीले न पार्टीको हित हेर्ने छन् न साथीहरुको घायघत हेर्ने छन् न जनतासँग गरेको बाचो सम्झने छन् । जसको काँधमा टेकेर सत्ताको कुर्चीमा चढेको हो उसैको काँध फोहर गर्न उनले धक मान्ने छैनन् । उनले खोलो तर्न प्रयोग गरेको लठ्ठीको गुन बिर्सिसकेका छन् । जसले हिमाल चढायो उसैलाई शत्रु देख्न थालेका छन् ।

शत्रुसाधनका निमित्त व्यवस्था नै उल्टिने सम्भावनाले पनि उनालई रोक्ने छैन । हो, ओली सरकारकारले जनताको आशा तोडिसक्यो, भरोसा गुमाइसक्यो, सरकारको आयुसँग जनताको कुनै साइनो सरोकार बाँकी छैन । माया र आशक्ति बाँकी छैन । तर व्यवस्था ढल्न ढाल्ने कुरा जनताले पचाउन सक्तैनन् । यो साना दुखले आज्र्याको व्यवस्था होइन । पार्टीभित्रको विपक्षको बहुमतको दम्भ र ओलीमा पलाएको आफै राज्य हुँ, आफै पार्टी हुँ भन्ने दुर्योधन धम्भले निम्तने विनाश मात्रै हो । पार्टी विभाजित होस् वा पार्टीको हातबाट सत्ता गुमोस् तर व्यवस्थामा आँच नआओस् । नेपाली जनताको आकांक्षा त्यति मात्रै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here