काठमाण्डौ । माक्र्सबादी एकता अभियान नेपालले नेकपा (माले) का महासचिब सीपी मैनालीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अभियानले नेपालमा रहेका सबै वाम पार्टीहरुसँग नेपालको कम्युनिष्ट आन्दोलन र बर्तमान सरकारको कार्यशैलीलाई बिषय बनाएर अन्तरक्रिया गर्ने निर्णय गरे अनुरुप मैनालीसँग मंसिर २६ गते शुक्रबारका दिन जूम अन्तरक्रिया सम्पन्न गरेको हो । मैनालीभन्दा पहिला दुईसाता अघि नेकपा मसालका महामंत्री मोहन बिक्रम सिंहसित अभियानले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
मैनालीले अन्तरक्रियाका क्रममा आफ्नो पार्टीको अवधारणाबारे संक्षेपमा बोल्नु भएको थियो । मैनालीको प्रस्तुतिसँग जोडिएर नेकपा (माले) को पार्टी नीतिबारे सहभागीहरुबाट जिज्ञाशा राखिएका थिए । लगभग साढे तीन घन्टा चलेको अन्तरक्रियात्मक कार्यक्रममा मैनालीले आफ्नो पार्टीले बर्तमान सरकारका जनबिरोधी र राष्ट्रिय हित बिपरितका कृयाकलापहरुको बिरोध गरिरहेको र अझै सशक्त बिरोध गर्नु पर्नेमा जोड दिनु भएको थियो । मैनालीले सरकारका भ्रष्ट , जनबिरोधी र राष्ट्रिय हित बिपरितका कामहरुको बिरोधमा सबै बाम दलहरु बीच सहकार्य हुनुपर्नेमा पनि जोड दिनु भएको थियो ।
कार्यक्रममा अभियानका सल्लाहकार नारायण शर्मा, अभियानकै सह–संयोजक प्रा.रमेश अधिकारी, अभियानका सदस्य रघु घिमिरे, सचिब राजेन्द्र देशभक्त र प्रवक्ता निमकान्त पाण्डे लगायतले महासचिव मैनालीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । मैनालीले सबै प्रश्नकर्ताहरुका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता अभियानका संयोजक डा.शम्भु कट्टेलले गर्नु भएको थियो । कट्टेलले अभियानबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई सफल तुल्याउन नेपालका बाम दलहरुबीच सहकार्यको आवश्यकता रहेको स्पष्ट पार्दै त्यसका लागि अभियानले संयोजनकारी भूमिकामा आफूलाई प्रस्तुत गर्नेमा जोड दिने जानकारी गराउनु भएको थियो । सह–संयोजक प्रा.रमेश अधिकारीले अभियानको अवधारणाबारे संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तब्य दिनु भएको थियो । कार्यक्रमको संचालन अभियानका प्रवक्ता निमकान्त पाण्डेले गर्नु भएको थियो ।















