ताप्लेजुङ-देशकै शक्तिपीठ मानिएकाे ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको छ। स्थानीय सामुदायिक वनमा लागेको आगो मन्दिरतर्फ बढी रहेको र मानिसले नियन्त्रण गर्न सम्भव नभएको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
मन्दिरबाट करिव ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको आगो मन्दिरतर्फ बढी रहेको र मानवीय प्रयासले नियन्त्रण गर्न सम्भव नभएको महतले जानकारी दिए। हावाको बेग उकालो भागतर्फ केन्द्रित भएकोले आगो बढ्न अझ सघाउ पुगिरहेको उनले बताए।
आगो पाथीभरा क्षेत्रको खानेपानी मुहानबाट उकालो बढी सकेकोले मन्दिर क्षेत्र जोखिममा परेको उनले बताए। ‘सुख्खा मौसम छ, भुईमा भएको बस्तुदेखि रुख समेत बल्दै गएका छन्’ मन्दिर क्षेत्र जोखिममा परेको अवस्था सुनाउँदै उनले भने। अस्तिको दिनबाट सानो मात्रामा देखिएको आगो हिजो पाथीभरा क्षेत्रका स्थानीय, प्रहरी र पाथीभरा क्षेत्रका कर्मचारी सबै लागेर निभाएको भएपनि फेरि जंगलमा कसरी आगो सुरु भयो भन्ने निर्क्यौल नभएको उनले बताए। आगो नियन्त्रण गर्न हेलिकोप्टर बाहेक अर्को कुनै बिकल्प नभएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य राजा मादेन९राजेन०ले जानकारी दिए। त्यहाँ पानीको समेत अभाव रहेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ प्रस्थान गरेका बताए।















