काठमाडौं । डबल नेकपा नेकपा मिलाउने अन्तिम प्रयासका लागि नेपालको चारदिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली फर्किएको छ ।
नेपालको कम्युनिष्ट पार्टीमा आएको विभाजन रोक्न सकिन्छ कि भनेर चार दिनअघि नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल निराश हुँदै स्वदेश फर्किएको हो । नेकपा विभाजन भएपछि फेरि एक बनाउन चिनियाँ राष्ट्रपति सिजिन पिङको सन्देश बोकेर आएको टोली आज चीन फर्किएको हो ।
राष्ट्रपति सिको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय बिभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार काठमाडौं आएको थियो ।
चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारूढ र विपक्षी दलका नेताहरूलाई दिएको छ ।टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा यहाँका राजनीतिक दलहरूसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगका सबै भेटमा चिनियाँ अधिकारीहरूले नेपालमा विकसित राजनीतिक अस्थिरता र नेकपामा आएको फुटबारे जिज्ञासा राखेको थियो ।


















