अभियन्ता प्रधान र छायाँका कर्मचारी बीच मिलापत्र

169

काठमाडाैं –  विगत केही सातादेखि  छायाँ  सेन्टर प्रकरणले नयाँ नयाँ मोडहरु लिइरहेका छन् । केही दिन अघि छायाँका कर्मचारीहरुले छायाँ सेन्टर रहेको स्थानमा कमलपोखरी पुनर्स्थापना गराउन लागिरहेका अभियन्ता भागवत नरसिंह प्रधानलाई धम्क्याएको कुरा विभिन्न सञ्चार माध्यममा समाचार संप्रेषण भएकाे थियाे ।

त्यसपछि अभियन्ता प्रधानले शान्तिपुर्वक बाँच्न पाउने अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । पाैष २२ गते मंगलबार अभियन्ता प्रधानलाई धम्क्याउने छायाँका कर्मचारीहरु र प्रधानबीच सहमति भएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा दुवै पक्ष उपस्थित भई एक अर्कालाई वाधा, अवरोध नपुर्याउने भनी मिलापत्र भएको हो ।

अभियन्ता प्रधानको घरमा पत्र दिन गएका रामबहादुर श्रेष्ठ, युनिट्राभ केन्द्रीय कमिटीका अध्यक्ष सुमन पराजुलि लगायतले आइन्दा प्रधानको घरमा नजाने र त्यस किसिमका पत्र दिने, धम्की दिने कार्य नगर्ने सहमति गरेका छन् । त्यस्तै अभियन्ता प्रधानलाई पनि अदालतमा विचाराधीन मुद्दामा अदालतबाट फैसला नआउन्जेल छायाँका कर्मचारीलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न सहमति गराइएको छ । वृत्तमा अभियन्ताहरु पनि ठुलै संख्यामा भेला भएका थिए । शुरुको दुई घन्टा जतिको समय दुवै पक्षबीच वादविवाद समेत भएको थियो भने पछि दुवै पक्षबीच एक अर्कालाई वाधा, अवरोध, धम्की खालका गतिविधि नगर्ने सहमति गरिएको हो ।

केही दिन अघि छायाँ सेन्टरका मजदुरहरुको सरोकार सम्वन्धमा भन्दै छायाँँका केही कर्मचारीहरुले अभियन्ता प्रधानको घरै पुगेर ३ दिनभित्र छायाँ सेन्टरविरुद्धका गतिविधि बन्द गर्न भनेर पत्र दिएका थिए । अदालतमा विचाराधीन मुद्दालाई लिएर अभियन्ताको घरमै गएर धम्क्याएको भन्दै यसको सर्वत्र विरोध पनि भएको थियो भने प्रधानलाई धम्क्याउने व्यक्तिहरुले तत्काल माफी माग्न भन्दै विभिन्न २१ वटा संघसंगठनले संयुक्त विज्ञप्ती समेत जारी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here