आजदेखि माघी पर्व सुरु

219

धनगढी, पुस २९ गते । तराईका थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो ।  थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् ।

यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुङ्गुर मारिएको हुन्छ । विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।

पुस महिनाको अन्तिमरात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने लगायतको कार्य हुने गरेको छ । त्यसपछि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन विहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । यसरी, माघे सङ्क्रान्तिको दिन विहानै स्नान गर्नाले पूण्य प्राप्ती हुने जनविश्वास रहेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउनुहुन्छ ।

उहाँका अनुसार माघीमा एक दिन पानी किनेर नुहाउनु पर्ने मान्यता छ । सोही कारण, नदी, पोखरी, तलाउमा नुहाउनेले आफू नुहाउनु अगाडि रुपियाँ, पैसा पानीमा छोड्ने गर्दछन् । नुहाइ सकेपछि घरका सबै व्यक्तिले चामल, नून, बेसार छुने र आफूभन्दा ठूलालाई सेवा ढोग गर्ने, सानालाई आशिर्वाद दिने चलन रहेको छ । यो दिन अत्यन्त महत्वपूर्ण रहेको र यहि दिनबाट थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको चौधरीले उल्लेख गर्नुभयो । यो वर्ष माघ १ गतेदेखि थारु सम्वत २६४४ लाग्ने जनाइएको छ ।

माघे सङ्क्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यो दिन प्राणी हिंसा गर्न बर्जित गरिएको र ढिक्री, तरुल जस्ता परिकार खाने चलन रहेको जनाइएको छ । माघीको दोस्रो दिनलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।

माघ २ गते अर्थात माघीको अन्तिम दिन भने विवाहित छोरीलाई उपहार ‘निसराउ’ दिने घरपरिवार/गाउँको आर्थिक हरहिसाब परिवार/गाउँवासी समक्ष प्रस्तुत गर्नेदेखि लिएर वर्षभरि भएका कामकाजको समीक्षा गर्ने जस्ता कार्य गरिन्छ । थारु समुदायमा हरेक वर्ष एक दिन सामाजिक परीक्षण हुने गर्दछ, त्यो भनेकै माघको अन्तिम दिन हो । यसैगरी, यहि दिन नै आगामी दिनमा के, कसरी काम गर्ने भनेर त्यसको योजना बनाउने लगायतको कार्य हुने गर्दछ । यसलार्ई ‘खोज्नीबोज्नी’ र पर्वको अन्तिम दिनलाई ‘खिच्रहवा’ भनिन्छ ।

यस दिन परिवारको मूली र गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । भलमन्सा प्रथाबाट चल्दै आएको थारु समुदायले यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा लगायत अन्य पदाधिकारी चयन गर्ने गर्दछन् । यस दिन राम्रो काम गर्ने नेतृत्वकर्तालाई पुरस्कार स्वरुप पुनः एक वर्षका लागि नेतृत्वको जिम्मेवारी दिने गरिन्छ । तर, गाउँवासीले चाहे अनुसार काम गर्न नसकेका वा विभिन्न कार्यमा सकारात्मक भूमिका खेल्न नसकेका नेतृत्वकर्तालाई सम्मानपूर्वक जिम्मेवारीबाट बिदाई गर्ने गरिएको छ ।

माघी नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व रहेकाले यसलाई धुमधामसंग मनाउने गरेको धनगढी उपमहानगरपालिका–९ बङ्गराका दिनेश चौधरीले बताउनुभयो ।

यो वर्ष भने कोरोना कारण माघी मेला, महोत्सव नभएपछि विगत वर्ष जस्तो बढी रमाइलो नरहेको उहाँले उल्लेख गर्नुभयो । ‘विगत वर्षमा ठाउँमा–ठाउँमा मेला, महोत्सव लागेका कारण चहलपहलझनै हुने गरेको थियो’, चौधरीले भन्नुभयो ।

माघीलाई मुक्त कमैया र मुक्त कमलरीले स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने गरेका छन् । माघी पर्वले परिवार, इष्टमित्रबीच मेलमिला बढाउने, आपसी सम्बन्ध अझ सु–मधुर बनाउने गरेको बताइन्छ । माघीपछि थारु समुदायमा विवाह, अङ्शवण्डा लगायतका कार्यको थालनी गरिन्छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here