अव हाम्रो पात्रोमै च्याट, अडियो र भिडिओ कल गर्न मिल्ने

275

काठमाडौं । ह्वाट्सएपको नयाँ नीतिका कारण थुप्रै प्रयोगकर्ताले अन्य सुरक्षित विकल्पको खोजी गर्न थालेका छन् । यसैक्रममा अन्तर्राष्ट्रिय बजारमा सिग्नल एपको चर्चा चुलिएको छ ।

विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट कम्पनीका सीईओ एलन मस्कले सिग्नल प्रयोग गर्न भन्दै ट्वीट गरेपछि यो एप विभिन्न देशको ट्रेन्डिङमा छ । यसैबीच सर्वाधिक प्रयोग हुने नेपाली एपको हाम्रो पात्रोले पनि च्याट, अडियो र भिडिओ कलिङ सेवा सुरु गरेको छ ।

यससँगै म्यासेजिङ सर्भिसको रुपमा स्वदेशी विकल्प तयार भएको छ । इन्ड टु इन्ड इन्क्रिप्सन फिचरयुक्त हाम्रो पात्रोको हाम्रो म्यासेज फिचर सुरक्षित पनि छ । हाम्रो पात्रोले एपको ८.०.२ भर्सनमा यो फिचर थप गरेको हो ।

हाललाई यो सेवा नेपाल र भारत, अमेरिका, यूएई, जापान, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, कतार, साउदी अरब र बेलायतका प्रयोगकर्ताका लागि उपलब्ध छ ।

अन्य देशका प्रयोगकर्ताले भने अबको केही सातामा यो सुविधा प्रयोग गर्न सक्नेछन् । त्यस्तै आईओएस प्रयोग कर्ताले समेत यसका लागि केही समय कुर्नुपर्नेछ । आज हामी तपाईंलाई हाम्रो पात्रो म्यासेजमा उपलब्ध फिचर कसरी प्रयोग गर्ने भन्ने बारेमा बताउँदै छौं ।

कसरी गर्ने प्रयोग ?

यसका लागि सुरुमा तपाईंले यहाँ क्लिक गरेर हाम्रो पात्रो एप अपडेट गर्नुपर्ने हुन्छ ।

त्यसपछि म्यासेज, अडियो तथा भिडिओ कलिङ फिचर प्रयोग गर्न एपको मुख्य भागमा रहेको म्यासेजमा थिच्नहोस् ।

यस बाहेक एपको माथि बाँया कुनामा रहेको तीन धर्सामा ट्याप गरेर तेस्रो स्थानमा रहेको ‘हाम्रो म्यासेज’ छनौट गर्न पनि सक्नुहुन्छ । हाम्रो म्यासेजभित्र गइसकेपछि तपाईंले यसमा अकाउन्ट खोल्नुपर्ने हुन्छ ।

अब आफ्नो जीमेल, फेसबुक वा ट्वीटरमध्ये कुनै एउटा विकल्पबाट अगाडि बढ्नुहोस् ।

हाम्रो पात्रोको नियम, शर्त तथा गोपनीयता सम्बन्धी नीति स्वीकार गर्दै कन्टिन्यु बटनमा थिच्नुहोस् ।

एपमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।

अबको केही बेरमा हाम्रो पात्रोले तपाईंको मोबाइलमा ६ अंकको ओटीपी कोड पठाउनेछ । त्यसलाई राख्नुहोस् ।

आफ्नो कन्ट्याक्ट्समा हाम्रो पात्रोलाई एक्सेस दिन ‘अलाउ’ बटनमा दबाउनुहोस् । यति गरिसकेपछि अब तपाईं ‘हाम्रो म्यासेज’ अन्तर्गत च्याट, भिडियो तथा अडियो कलिङको सुविधा प्रयोग गर्न सक्नुहुन्छ ।

यदि हाम्रो म्यासेजको भाषा परिवर्तन गर्न चाहनुहुन्छ भने हाम्रो पात्रोको सेटिङमा गएर मिलाउन सक्नुहुनेछ । -टेक पानाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here