चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।
अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उनले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गरे । दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन (चौम) पार्टीको सदस्यता लिएका थिए । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उनको ठूलो योगदान रहेको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले भने– “कम्युनिष्ट आन्दोलनका अभिभावकका रुपमा र आफ्नै अभिभावकका रुपमा मेरो जीवनमा उनको योगदानका कारणले म अहिले यो ठाउँमा आइपुगेको हुँ ।”
यसअघि अध्यक्ष दाहाल र माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी गरिएको शोक वक्तव्य वाचन गरिएको थियो । अध्यक्ष दाहाल कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ प्रस्थान गरेका थिए । अध्यक्ष दाहाल गृह जिल्ला आउँदा सधैंँजसो कुँवरलाई भेट्ने गर्थे ।
कुँवरको आजै देवघाटमा अन्त्येष्टि गरिंँदै छ । विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिएका कुँवरको आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी हाल भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आएका थिए । रासस