काठमाडाैं – स्वदेशी तथा विदेशी चलचित्र सुटिङका लागि पहिलो रोजाई बन्दै गएको अन्नपूर्ण गाउँपालिकास्थित प्राकृतिक सौन्दर्यले भरिपुर्ण घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ कास्की शाखाले मंगलवार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रमको आयोजना गर्दै ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमाथि फिल्मकर्मीसँग अन्तरक्रिया गरेको छ ।
छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ मा निर्देशक सुदर्शन थापाले कोभिडले सिनेमा जगत र पर्यटन दुबै क्षेत्र अति प्रभावित भएको जनाए । उनले भने- ‘पर्यटन र सिनेमा एकअर्काका परिपुरक हुन् । सिनेमाले पर्यटन प्रर्वधनमा ठूलो भूमिका खेल्छ । तर, सिनेमाले पर्यटन प्रर्वधनमा सहयोग गरे पनि त्यसको विकास निर्माणमा मद्दत गर्छ भन्ने चाहिँ मलाई लाग्दैन ।’
१२ वर्षपछि घान्द्रुक पुगेका उनले थपे- ‘मैले मुस्ताङमा ‘के यो माया हो ?’ खिचेको थिएँ तर त्यसमा भूगोलको चर्चा भएन । पछि त्यहीँ ‘प्रेमगीत’ खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा राम्रो प्रतिक्रिया पायौं । आन्तरिक पर्यटन आउँदा अझ राम्रो बनेको सुनियो । त्यो ठाउँको भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’
त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हबको रुपमा स्थापित भएको जनाए । सिनेमाबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेको बताउँदै उनले पर्यटन सम्बद्ध संस्था र चलचित्र क्षेत्रबीच समन्वय भने हुन नसकेको स्वीकार गरे । विगतमा भएको कमजोरी सुधार्दै आगामी दिनमा राम्रो गर्दै जाने उनको प्रतिबद्धता छ ।


















