काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्धमा अदालतको निर्णय नकुरी सडक संघर्षको कित्ता रोजेको छ ।
सडक संघर्षमा तत्काल जाने कि सर्वोच्च अदालतमा बहसका क्रममा रहेको मुद्दाको फैसला कुर्ने भन्ने दहलफसलबीच सडक संघर्षमा जाने कित्ता क्लियर गरेको हो ।
पहिला अदालतको निर्णय कुर्ने पक्षमा रहेका सभापति देउवा प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा सकारात्मक देखिएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित रहने र ‘संसद पुनःस्थापना’को एजेण्डामा सकरात्मक हुने निर्णय केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।
मंगलबार सकिएको केन्द्रीय कार्यसमिति बैठकबाट तेस्रो चरणको आन्दोलनसमेत कांग्रेसले घोषणा गरेको छ । ७ पुसबाट सुरु भएको केन्द्रीय समिति बैठक मंगलबार सकिएको हो ।
कांग्रेसभित्र प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चर्काउने र संसद पुनःस्थापनाबारे मतैक्यता थिएन । नेताहरुबीच देखिएको अन्यौल हटेको बैठकको निर्णयले देखाएको छ ।
‘कांग्रेस हिजो पनि प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आन्दोलित थियो, आज पनि छ र भोली पनि रहनेछ,’ केन्द्रीय सदस्य बालकृष्ण खाणले भने ।
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति लोकतन्त्र र विधिको शासनविपरीतका रहेकोसमेत कांग्रेसले बताएको छ ।
आन्दोलनका कार्यक्रम निरन्तर राख्ने र महाधिवेशनको तयारीलाई पनि तीव्रता सहमति कांग्रेस नेताहरुबीच भएको छ ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले माघ १९ , २४ र ३० गते संसद विघटनविरुद्ध प्रदर्शन गर्ने, म्याद सकिएका भ्रातृसंस्थाहरुको म्याद थप्ने, समायोजनसम्बन्धी विवाद मिलाउने जिम्मा पुनः निर्वाचन समितिलाई प्रस्ताव पेस गरेका थिए । सबै प्रस्ताव केन्द्रीय समितिले सर्वसहमत पारित गरेको थियो ।
बैठकमा नेता रामचन्द्र पौडेलले ‘मोही माग्ने ढुंग्रो लुकाउने’ काम गर्न नहुने भन्दै संसद विघटन असंवैधानिक भएकोले संसद पुनःस्थापना नै पार्टीको एजेण्डा रहेको बताए ।
‘हामीहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भनिसकेका छौं । जनता र कार्यकर्तालाई हामीले अलमलमा राख्नु हुँदैन ।
असंवैधानिक कदम सच्याउने भनेकै संसद पुनःस्थापना हो । मैले पहिले पनि यही कुरा भनेको छु अहिलेपनि यही भन्छु , संसद पुनःस्थापना नै कांग्रेसको एजेण्डा हो ।’
बैठकमा पौडेलले भने । पौडेलको भनाइ सकिएपछि सभापति देउवाले बैठक सम्पन्न भएको घोषणा गरे ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पनि संसद पुनःस्थापनाबारे पार्टीमा विवाद नरहेको बताए ।
‘असंवैधानिक कदम भनेर हामीले भनिसकेका छौं । त्यसैले असंवैधानिक कदमलाई सच्याउनुपर्छ । सच्याउने भनेकै संसद पुनःस्थापना हो,’ थापाले भने ।
कांग्रेसले आन्दोलन थप चर्काउन कार्यकाल सकिएका भ्रातृसंस्थाको म्याद म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहित ११ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थप्ने निर्णय बैठकले गरेको हो ।
पार्टीले आन्दोलन घोषणा गरेपनि महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाहरु आन्दोलन अगावै अवैधानिक हुने भएपछि कांग्रेसले पहिला म्याद थपेर आन्दोलनको कार्यादेश दिएको हो ।
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध माघ १९ गते देशव्यापी प्रदर्शन गर्न भ्रातृसंस्थाहरुलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै कांग्रेसका शुभेच्छुक संस्थाहरुले माघ २४ गते प्रदर्शन गर्नेछन् भने जिल्ला समितिको आयोजनामा फागुन ३ गते देशव्यापी प्रदर्शन गर्नेछ ।
पहिला माघ ३० गने गर्ने भनिएको जिल्ला समितिको आयोजनाको कार्यक्रम त्यसदिन लोसार परेकाले फागुन ३ सम्म सारिएको हो । अभियान टाइम्स


















