काठमाडाैं – बिभिन्न सुरक्षा निकायहरुमा आबद्ध रही देश र जनताको लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरुको सम्झनामा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा जङ्गी अड्डास्थित सभामण्डप हलमा आयोजना गरेको शहीद सप्ताह कार्यक्रम मिति २०७७ माघ १६ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
राष्ट्रिय गान, शहीदहरुको सम्झनामा एक मिनेटको मौनधारण तथा प्रधान सेनापति थापाद्वारा दीप प्रज्वलन गरि शुरु भएको सो कार्यक्रममा उक्त संस्थाकी उपाध्यक्ष राधा पाण्डेले स्वागत मन्तब्य राख्नु भएको थियो । संस्थाको व्यवस्थापनमा पहिलो पटक शहीद दिवस मनाउन आयोजना भएको सो कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै प्रधान सेनापति थापाले शहिद दिवस २०७७ को पावन अवसरमा राष्ट्रका खातिर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वीरगती प्राप्त गर्ने सम्पूर्ण शहिदहरु प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नु हुँदै कर्तव्य पालनाका सिलसिलामा घाईते हुनु भएका सबै सुरक्षा निकायका सकलदर्जा तथा वीरगती प्राप्त शहिदका परिवारजनहरुमा राष्ट्रका निम्ति दिनु भएको अतुलनिय योगदानको कदर गर्दै हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो ।
संस्थाकी अध्यक्ष हेमा कुमारी घर्तीको धन्यवाद मन्तब्य सहित समापन भएको सो कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी, नेपाली सैनिक श्रीमति संघकी अध्यक्ष तथा कार्यकारी सदस्यहरु, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान अधिकृत, सबै प्रदेशका शहीद परिवारका प्रतिनिधि सदस्यहरु एवं चारैवटा सुरक्षा निकायका सकलदर्जाहरुको उपस्थिति रहेको थियो ।


















