एजेन्सी – चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ।
चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो। इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाइमा केन्द्रीत गराउन यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ। कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल्याउनै पर्ने भए अभिभावक र विद्यालयको पूर्वस्वीकृति लिनु पर्नेछ र कक्षामा हुँदा फोन विद्यालय प्रशासनलाई बुझाउनु पर्नेछ।
मन्त्रालयले यो प्रतिबन्ध तत्कालै लागू हुने बताएको छ। मन्त्रालयको निर्देशनमा विद्यार्थीको भौतिकदेखि मानसिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको उल्लेख छ। सन् २०१९ को तथ्यांकअनुसार चीनमा १८ वर्षमुनिका इन्टरनेट प्रयोगकर्ता १७ करोड ५० लाख थिए। तीमध्ये ७४ प्रतिशतले आफ्नै फोन बोक्ने गरेका थिए।
मन्त्रालयले शिक्षकहरूले पनि मोबाइलबाट गृहकार्य दिन नपाउने नियम ल्याएको छ।


















