व्यवसायीका समस्या समाधान गर्न महासंघ एकढिक्का

353

रुपन्देही- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीका समस्या समाधान गर्न महासंघ एकढिक्का भएर काम गरिरहेको बताएका छन्। बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले उद्योग, व्यवसायीका समस्यामा महासंघले एकढिक्का भएर काम गरेको जनाएका हुन्।     ‘

‘उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एकढिक्का भएर गम्भीरतापूर्वक कार्य गरिरहेको छ,’ ढकालको भनाइ थियो, ‘स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ। त्यो कार्य गर्न संघहरु नै सक्षम छन्। तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ। नीतिगत लबी गर्नुपर्ने हुन्छ। त्यसका लागि महासंघ सधैं तत्पर छ।’

वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गरेका थिए। चुनावका बेलाजस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उनले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गरे।

उनले तिक्तता र पक्षविपक्ष भएर चुनावमा उठेपनि सबै उम्मेदवारबीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गरे।  ढकालले लुम्बिनी केबलकार प्रालिद्वारा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटवल-३ स्थित गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ बसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी दिँदै उक्त समारोहमा सहभागी भएर हौसला बढाइदिन आग्रह पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here