काठमाडौं / आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार शनिबार, आइतबार र सोमबार देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ । हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसमविदहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । महाशाखाले गरेको दैनिक मौसमको अनुमान यस्तो छ:
आज बिहानैदेखि काठमाडौं उपत्यका सहित देशभरका विभिन्नस्थानमा पानी परिरहेको छ । मेघ गर्जन तथा चट्टयाङ सहित वर्षा गराउने बादल विकसित भएपछि वर्षा भएको महाशाखाले जनाएको छ । आज दिउँसो देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहनेछ ।
साथै उच्च हिमाली भूभागका जिल्लाहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिएको छ । तराइका जिल्लाहरुमा हुरी बतास चल्ने सम्भावना छ । राति देशको अधिकांस भूभागहरुमा सामान्य तया बदली रहनेछ । हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा मेघगर्जनसहितको वर्षा र तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।
चैत २४ गते आइतबार(भोलि) :- आइतबार पनि मौसम बदली रहनेछ । बिहान पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका १/२ स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाको अनुमान छ । राति पनि मौसममा बदली हुने सम्भावना छ ।
चैत २५ गते सोमबार(पर्सी) :- सोमबार साँझबाट मौसममा केही सुधार आएपनि बिहान र दिउँसो सामान्य बदली रहनेछ । सोमबार पनि हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा वर्षा र तराईका जिल्लामा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ ।


















