बन्दाबन्दीमा गाउँमा ज्याला मजदुरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको जनाउँदै राउटे युवक मान सिंहले आफूहरु पनि जागिर खान इच्छुक रहेको जानकारी दिए । ‘गाउँमा ज्यालादारी पनि गर्न नसकिएपछि केही दिन जङ्गलको कन्दमूलको भरमा बाच्यौं, उनले भने, ‘लोपोन्मुख भन्ने तर राहत भने सरकारले दिएन् ।’ उनले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने मनसायमा रहेको बताउँदै राउटेले गाउँमा मजदूरी पाउन छाडेपछि चिन्तामा रहेको बताए ।
राउटे समुदायका युवायुवतीलाई आयमुलक काममा लगाउन सीपमूलक कार्यक्रम गाउँमा ल्याउनुपर्ने उनको भनाइ थियो । ‘अहिले हामी गाउँमा घर बनाउने काममा बढी जसो ज्यालादारी गरिरहेका छौं’ उनले भने, ‘बन्दमा भारत गएर मजदूरी गर्ने अवस्था पनि भएन् ।’
यहाँको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष रामनाथले आफ्नो वडामा एक दर्जन राउटे परिवार रहेको बताए । ‘शुरुमा चार परिवार थिए, सबै वनमा गएर काठका भाँडाकुडा बनाएर किनबेच गर्थे’, वडाध्यक्ष नाथले भने, ‘अहिले वनमा आश्रित छैनन् ।’
उनले सङ्घीय सांसद विकास कोष र जनता आवास कार्यक्रमको साझेदारीमा सात परिवार राउटेलाई पक्की घर निर्माण गरिएको बताए । ‘अहिले पनि अरु बाँकी राउटेको घर बन्ने योजनामा छ’, उनले भने, ‘उनीहरुको रोजगारी भनेकै गाउँमा ज्याला मजदूरी गर्ने हो ।’ राउटे परिवारका सदस्यले मासिक रु तीन हजार भत्ता सरकारबाट पाउने गरेका छन् । रासस


















