अब सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्रीकाे साथ नछोड्ने स्पष्ट : सिँचाइमन्त्री

54
काठमाडौं । नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै हालतमा नछाड्ने स्पष्ट पारे। ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि। हामीलाई केही चिन्ता छैन्,’ उनले भने।

उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरू एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए। उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे। उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी रहेको’ को संज्ञा दिए। उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको आरोप लगाए। देशलाई अस्थिरतरताबाट बचाउन बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे पनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए। अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए।

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आईपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए। आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पारे। तर, कम्युनिष्ट पार्टी छोडेर कांग्रेस वा राप्रपामा भने नजाने उनले विश्वास दिलाए । उनले अब माओवादी केन्द्रमा कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको दोहोर्‍याए।

तपाईँले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार भएको कुरा उठाउनुभएको थियो, तपाईँ त मन्त्री हुनुहुन्छ, जनतालाई यो विषयमा अलिक प्रष्ट पारिदिनुहोस न भनेर पत्रकारले सोधेको प्रश्नमा उनले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसंगबस उठाएको पनि स्पष्ट पारे । बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरुको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकोले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए ।

उनले भने,‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रुपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबल, अतिथिको हिसाबले मैले भन्नुपर्ने कुरा आयो । हो, मैले भनेको कुरा के हो भने–हो, यी कुरा उठेका छन् । यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ । मैले यत्ति भनेको हो । मैले आँफै उब्जाएर भनेको होईन । उठेको प्रश्नको मैले यसरी जवाफ आयो ।’

त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला।’

फरक प्रसँगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे । उनले अब लोडसेडिङ हुने कुनै पनि सम्भावना नहरेको जिकिर गरे। आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुने पनि उनले घोषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here