अब पासपोर्ट साइजको फोटो मोबाइलबाटै

89

काठमाडौं । अाजकाे युग माेवाइलकाे युग  हाे । माेवाइलकाे विकासले गर्दा मानिसकाे दैनिक जीवन सहज तुल्याएकाे छ ।  विगत केही बर्षदेखि शपिङदेखि रकम ट्रान्सफर गर्नेसम्मका  सबै  काम अनलाइनमार्फत सहज ढंगबाट सम्पन्न भइरहेकाे छ ।  यस्तोमा तपाईंलाई बैंक वा नागरिक एप वा अन्य कुनै सुविधाका लागि अनलाइनबाट खाता खोल्न फर्म भर्नुपर्‍यो भने पासपोर्ट आकारको फोटो आवश्यक भइरहेको हुन्छ ।

स्टुडियोमा गएर खिचाउने हो भने पनि सफ्टकपी नभएर प्रिन्ट कपी हात पर्छ । यस किसिमको झन्झटबाट मुक्त हुनका लागि आज हामी तपाईंलाई घरमा आफ्नै मोबाइलबाट पासपोर्ट आकारको फोटो तयार पार्ने तरिकाबारे बताउँदै छौं ।

एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा स्मार्टफोनमा फोटो एडिटिङका लागि अनेकौं एपहरु पाउन सकिन्छ, जसबाट तपाईंले निःशुल्क रुपमा पासपोर्ट आकारको फोटो तयार पार्न सक्नुहुन्छ । जसमा तपाईं पासपोर्ट साइज साइज फोटो एडिटर एप डाउनलोड गरेर फोटो बनाउन पनि सक्नुहुन्छ ।

नेपाली एप तथा गेम डेभलपर कम्पनी यार्साले बनाएको यो एपका हाल विश्वभर ४० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् । कम्पनीका संस्थापक एनजे सुवेदीका अनुसार एपका प्रयोगकर्ता नेपालमा भन्दा विदेशमा धेरै प्रयोगकर्ता छन् ।

नेपाल र भारतमा यो एप निःशुल्क प्रयोग गर्न सकिने बनाइएको छ । तर विज्ञापन भने देखिने गर्छ । यो एप तयार भएको पाँच वर्षभन्दा बढी भइसकेको छ । पासपोर्ट आकारको फोटो बनाउने एपहरुमा यार्साले बनाएको एप नै विश्वको नम्बर वान एप भएको सुवेदीको दाबी छ ।

कसरी बनाउने ?

सुरुमा आफ्नो एन्ड्रोइड स्मार्टफोनबाट यहाँ क्लिक गरेर पासपोर्ट साइज फोटो मेकर एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् । आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब एप खोल्नुहोस् र न्यु फोटो लेखिएको स्थानमा थिच्नुहोस् ।

पासपोर्ट आकारको फोटोको साइज देश प्रयोजन अनुसार फरक हुने भएकाले त्यहाँ नेपाल सर्च गर्नुहोस् । अब त्यहाँ आफूलाई आवश्यक साइज छनौट गर्नुहोस् ।

त्यहाँ एउटा पपअप विण्डो खुल्नेछ । त्यसमा कुन गुणस्तरको फोटो चाहनुहुन्छ, त्यसअनुसार डीपीआई (डट पर इन्च) छनौट गर्नुहोस् र ओकेमा क्लिक गर्नुहोस् ।

अब एपले तपाईंको फोटो तथा स्टोरेजमा एक्सेस माग्नेछ, त्यसमा अलाउ बटनमा ट्याप गर्नुहोस् ।

त्यहाँ तपाईंले फोटोग्राफर गाइडमा गएर उपयुक्त पासपोर्ट आकारको फोटो खिच्ने तरिकाको बारेमा जानकारी लिन सक्नुहुन्छ ।

अब पासपोर्ट आकारको फोटो तत्काल खिच्ने वा आफ्नो फोनको ग्यालरीमा रहेको फोटोलाई पासपोर्ट आकारमा तयार पार्ने निश्चित गर्नुहोस् ।

यदि तत्काल खिच्न चाहनुहुन्छ भने तल बायाँतर्फ रहेको क्यामेरा आइकनमा ट्याप गर्नुहोस् र क्यामेरालाई अलाउ गरेर अनुमति दिनुहोस् ।

अब जसको फोटो खिच्न चाहनुहुन्छ, उक्त व्यक्तिलाई क्यामेरामा रहेको फ्रेमभित्र पार्नुहोस् । यदि आफ्नै फोटो खिच्दै हुनुहुन्छ भने सेल्फी क्यामेरा प्रयोग गर्नुहोस् ।

तस्वीर खिचिसकेपछि तल पुछारमा रहेको स्टार्ट एडिटिङ बटनमा ट्याप गर्नुहोस् ।

नेपाल भारत लगायतका देशमा यो एपले निःशुल्क सुविधा दिने भएकाले तपाईंलाई विज्ञापनले भने केही दिक्क बनाउन सक्छन् । विज्ञापन समाप्त भएपछि तलको क्लोज बटन दबाउनुहोस् ।

अब आवश्यक छ भने फोटो एडिट गर्नुहोस् र माथि दायाँ कुनामा रहेको नेक्स्ट बटनमा ट्याप गरी अगाडि बढ्नुहोस् ।

औँलाको इसारा गरेको स्थानमा दबाएर पासपोर्ट साइजको फोटको फ्रेम मिलाउनुहोस् र माथि दायाँ कुनामा रहेको क्रप बटनमा थिच्नुहोस् ।

आवश्यक छ भने ब्राइटनेस, कन्ट्रास्ट, एक्सपोजर, स्याचुरेसन र टेम्प्रेचर मिलाउनुहोस् र पुनः माथि दायाँ कुनामा रहेको नेक्स्ट बटनमा दबाउनुहोस् ।

यति गरेपछि तपाईंको पासपोर्ट आकारको फोटो तयार हुन्छ र माथि दायाँ कुनामा रहेको सेभ बटन दबाउनुहोस् ।

यदि फोटोमा ब्याकग्राउण्ड हटाउनुपर्ने आवश्यकता छ भने तपाईंलाई एपले नै तल पुछारमा त्यसका लागि सुझाव दिनेछ । त्यसमा रहेको चेञ्ज बटनमा थिच्नुहोस् ।

त्यसमा दिइएका उपयुक्त टुल प्रयोग गरेर ब्याकग्राउण्ड हटाउनुहोस् र अन्तिम दायाँ कुनामा रहेको टिक मार्कमा थिच्नुहोस् र माथि दयाँ कुनामा रहेको सेभ बटनमा दबाउनुहोस् ।

अब उपयुक्त ब्याकग्राउण्ड कलर छनौट गर्नुहोस् र डन बटनमा थिच्नुहोस् अनि सेभ गर्नुहोस् ।

अब त्यहाँ फोटोको नाम राख्नुहोस्, जेपीजी वा पीएनजीमध्ये कुनै एक फर्म्याट रोज्नुहोस् ।

फाइल साइजमा गएर तपाईंले कति केबी वा एमबी साइजको फोटो बनाउने भनेर मिलाउन पनि सक्नुहुन्छ । सबै कुरा मिलाइसकेपछि अन्तिममा रहेको सेभ बटनमा दबाउनुहोस् ।

अब त्यहाँ तपाईंले सुरुमा रहेको शेयरिङ बटनबाट आफ्नो पासपोर्ट साइजको फोटो अरुलाई पठाउन सक्नुहुन्छ । डनमा थिचेर फिनिस गर्नुभयो भने तपाईंको मोबाइलमा सेभ हुनेछ ।

अन्तिममा रहेको प्रिन्ट मल्टिपल कपीज अप्सनमा थिचेर एकसाथ थुप्रै पासपोर्ट साइजको फोटो बनाउन सक्नुहुन्छ ।

यसरी तयार भएको फोटो खोज्न तपाईं अन्यत्र जानै पर्दैन । एपमा गएर माइफोटोज भित्र आफ्नो पासपोर्ट साइजको फोटो फेला पार्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here