काठमाडौं- दार्चुलाको सदरमुकामभित्रै पर्ने गल्फाइ गाउँस्थित नेपाल-भारत सीमामा नेपाल सरकारको सहमतिबिना भारतले एकतर्फी ढंगले नेपाली जमिन समेत मिचेर तटबन्ध बनाइरहेको सांसद् दिलेन्द्र बडुले जनाएका छन्।
स्थानीय रुपमा ध्यानाकर्षण गराएको र केन्द्रबाट समेत टोली गएर नेपाली जमिन मिचिएको प्रतिवेदन दिइएपनि सरकारले बेवास्ता गरेको उनले बताए। उनले भने, ‘पुसदेखि निर्माण कार्य भइरहेको छ। तर, सरकार कानमा तेल हालेर सुतेर बसेको छ।’ उनले ‘राष्ट्रवाद व्यवहारमा कि भाषणमा मात्रै?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष समेत गरे।
उनले तटबन्ध रोकिनुपर्छ भनेर दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतको एसडिएम, डिएमलाई पत्राचार गरेको बताए। ६ वर्ष पहिले २०७० असार २० गते आएको भीषण बाढीको समय १४७ रोपनी जमिन खोलाले बगायो। त्यही बेला ठूलो हिस्सा भारतर्फ गयो। गल्फाइको पारिपट्टीको ३५ हेक्टर जमिन, हस्पिटल, भूकार्यालय, जिल्ला वन कार्यालय, दुईटा नर्सरी र सामुदायिक जंगल भारततर्फ पुगेको उनले बताए। खोलाको धार परिवर्तन गरेर आएको बाढीले नेपाली जमिन भारततर्फ गएको उनको धारणा छ।
भारत सरकारले आफ्नोतर्फ पक्की तटबन्ध मात्रै नभइ नदीभित्र स्टड तयार गरेर पानीको मुख्यधार नेपालतर्फ आउने गरेकाले बाढीको जोखिम रहेको उनको धारणा छ।


















