पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन

175

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको निधन शुक्रबार (१३ चैत) भएको हो ।

अस्पताल भर्नापछि उनको शरीरमा अनपेक्षित रूपले सुधार देखिँदा चिकित्सकहरू उत्साहित बनेका थिए । तर पुनः जोशीको स्वास्थ्यावस्था बिग्रिएको थियो ।

जोशीको ५७ वर्षको उमेरमा आज निधन भएको हो । वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएका थिए । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका जोशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योगमन्त्री बनेका थिए ।

स्वर्गीय जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here