काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेता निष्कासनमा परेका छन् । एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिएन (अनेरास्ववियू) का तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी मंगलबार निस्कासन गरेको सो संगठनले जनाएको छ ।
अनेरास्वयुविका अध्यक्ष ऐन महरका अनुसार संगठनको विधि विधान तथा नीति निर्देशनको विरुद्धमा गएर निरन्तर गतिविधि गरेको र पटक पटक चेतावनी दिंदासमेत समानान्तर कमिटी गठन गर्नेजस्ता गलत काम गरेकाले संगठनको सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको छ । निष्कासनमा परेका विद्यार्थी नेतामा सुदेश पराजुली, आरती लामा र वसिम आलम छन् ।
संगठनको विधान र अनुशासन विपरीत काम गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएकोमा कुनै जवाफ नआएपछि कारवाही गरिएको अध्यक्ष महरले बताउनुभयो । साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरिएको भए पनि आफ्नो गल्ती महसुस गरी सच्चिएर आएमा कारवाही अवधि कम गर्नसक्ने पनि अध्यक्ष महरले बताउनुभयो ।
यसअघि वरिष्ठ नेता नेपाल, नेताहरु भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल पनि छ महिनाका लागि निलम्बनमा परिसक्नुभएको छ । नेताहरु कारवाहीमा परे पनि सामान्तर कमिटी गठन गर्ने र सामूहिक भेला गर्ने गराउने काम भने रोकिएको छैन ।


















