काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद गगन थापाले देश र विदेशमा रोजगारी गुमाएका कामदारका विषयमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । संसदको आजको बैठकमा सांसद थापाले आफूलाई चमत्कारिक दाबी गर्ने सरकारले ठोस कदमसहित संसदलाई जानकारी दिन अनुराेध गरेका छन् ।
थापाले “कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार, निर्माण, यातायात र सबैभन्दा धेरै पर्यटन उद्योग प्रभावित हुँदा लाखौंले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ– विदेशमा रहेका लाखौंले रोजगारी गुमाएका छन् । जो नेपाल फर्किएका छन् । तर, फर्किएर जान चाहेर पनि पाएका छैनन् ।” उनले ती कामदारका विषयमा सरकारले केही पनि नसोचेको जनाए ।
“रोजगार गुमाएकाहरुको पुनस्र्थापनाका विषयमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ,” थापाले भने, “दक्षिण कोरियाको भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेका करिव १० हजार ५०० र प्रतिबद्ध कामदार करिव दुईहजार महिनौंदेखि काठमाडौंमा यत्रतत्र छरिएका छन् ।
सरकारले उनीहरुका बारेमा निरन्तर सरकारले वेवास्ता गरिरहेका छन् छ ।” उनले फिलिपिन्स, माल्दिप्स, श्रीलंका, म्यानमारको सरकारले गरेजस्तो हाम्रो सरकारले पनि गरेको भए परीक्षा पास गरेर बसेका कामदार यतिबेला कोरिया गइसकेको हुने जनाए ।
“भाषा र सीप परीक्षण पास गरेर कोरिया गएका र घरविदामा आएका कामदारसमेत काममा फर्कन पाएका छैनन्,” थापाले भने, “ठोस काम गरेर यसको जानकारी सदनलाई गराउन सम्मानीय सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”


















