महामारीमा सचेत बनौं !

204

तीर्थराज जाेशी

कोभिड १९ को संक्रमण पुनः ब्युँझिरहँदा जनमानसमा निकै त्रास र भयको वातावरण फैलिँदै गएको यथार्थ हाम्रा सामु छ । यसको नियन्त्रणको एउटै उपाय शारीरिक दुरीलाई नै मानिएको छ । स्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्दै संक्रमण रोक्न विषम परिस्थितिको सामनाका लागि जुटेर अघि बढ्नु आजको आवश्यकता देखिएको छ । यसमा राज्य र नागरिक दुबै पक्ष सचेत र जिम्मेवार रहनु पर्ने देखिन्छ ।

सरकारलाई दोष मात्र दिने आफू कुनै कुराको मतलव नै नगर्ने नागरिक र सम्भावित दुर्घटनाको न्युनीकरणका लागि नसोचेर केवल सत्ता समीकरणमा अलमलिरहने सरकारका कारण स्थिति प्रतिकूल बन्न जान्छ । मनोबल कमजोर बनाइदिने तथा संक्रमण अगावै रोगी बनाइहाल्ने खालका क्रियाकलाप र व्यवहारहरु फैलिरहँदा समाजमा एकप्रकारको त्रास अझ सल्किँदै गएको देखिन्छ । एउटै समाचारलाई दोहो¥याई तेह¥याई सम्प्रेषण गर्ने, समाचारका शीर्षक नै त्रासयुक्त बनाउने, भय सिर्जना गर्ने खालका तस्वीर प्रदर्शन गर्दै अनेकथरी शीर्षक राखेर झनै भयावह वातावरण बनाउने, मान्छेलाई निरुत्साहित गर्ने, संक्रामक भाइरसभन्दा बढी भाइरल बन्न खोज्ने प्रवृत्तिका कतिपय युवाहरुको पत्रकारिताले समाजमा समस्या सिर्जना गरेको देखिन्छ । केही युवाहरुको झुण्ड नेताको भजन र प्रशंसामै तल्लीन छ । समाज सेवा र सामाजिक जागरणतर्फभन्दा कथित नेताहरुको चाकरी र चाप्लुसीमा हराएर जीवनको मूल्यवान् समय र अनन्तः सम्भावाहरु खेर जाँदैछन् ।

यस्तो विषम परिस्थितिमा मानवीय संवेदना नगुमाइ सक्दो सहयोग र सेवामूलक भावना प्रकट गर्नु हाम्रो कर्तव्य हो । शारीरिक दुरीलाई हामी सामाजिक दुरीमा परिणत गर्न नखोजौँ । आतङ्कित बनेर समस्या समाधान हुँदैनन् । भय, त्रास र आतंकले मनभित्र डेरा जमाइरहँदा मानसिक दुर्बलताले ठाउँ लिन्छ । डरका धेरैजसो भाइरस मनभित्रै सलबलाइरहेका हुन्छन् । पहिला तिनलाई परास्त गर्नु पर्दछ । सचेतना र सावधानी अपनाउनुका साथै समाज र समुदायलाई झनै निरुत्साहित गर्ने खालका क्रियाकलाप  तत्काल  बन्द  गरौँ ।  कतिपय आफन्त गुमाउँदाको पीडामा छन्, कोही उपचारको अभावमा छटपटाउँदै छन्, कसैलाई जीविकोपार्जनमा समस्या छ । यस्तो परिस्थितिमा सक्दो सहयोग, सेवामूलक सन्देश, मानवीय भावना र सामाजिक कर्तव्यजस्ता कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

सरकारमा बसेकाहरु त्यति धेरै संवेदनशील बन्न खोजेजस्ता देखिँदैनन् । यस्ताे बेेेेला सम्पूर्ण राजनीतिक दल, देशविदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक तथा विश्वभरकम मानव समुदाय सबै मिलेर विषम परिस्थितिको सामनाका लागि जुट्नु पर्ने हो । आरोप प्रत्यारोपमा नलागि सहकार्यमा अघि बढ्नु पर्ने हो, जनताको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्नुपर्ने हो तर झट्ट हेर्दा सत्ताको समीकरणमा गुणा भाग गर्दै कुर्सीको सुरक्षाका लागि साम, दाम, दण्ड, भेदको नीतिमा अलमलिने काममा राजनीतिक नेता तथा कार्यकर्ताहरुको भागदौड बढी देखिन्छ । मानवीय संवेदना र भावना गुमाउँदै गुमाउँदै सत्ता र सरकारमा पुगेकाहरु, कसैको पीडा र वेदना बुझ्ने सामथ्र्य नभएकाहरु, केवल आफ्नो निम्ति मात्र बाँच्न अभ्यस्त भएकाहरु र नाम अनि दामको चक्करमा रुमलिएकाहरु जनताको असहज र कठीन परिस्थितिमा जिम्मेवार देखिँदैनन् पनि । अलिकति जिम्मेवार देखिए भने हामी तिनैको गुणगानमा समय बिताइदिन्छौँ र ताली पिट्न मात्र हौसिन्छौँ ।

केही काम गरिहाले भने हामी तिनको भजन गाउनमा अलमलिन्छौँ । तिनका आम्नेसाम्नेमा रहेर किलिक्क पार्दै फोटो खिचेर आफ्नो उचाइ बढाउनका लागि हतारिन्छौँ । सेवामूलक काम तिनको कर्तव्य हो भन्ने नै बिर्सन्छौँ र एकोहोरो प्रचारबाजीमा लागेर तिनका उद्घाटन, मन्तव्य र सवारीका समाचारमै हराउँछौँ । कथित राजनेताहरुको प्रशंसामा रमाउँदा रमाउँदै उनीहरुसँगको सेल्फीमा समय खर्चेर हामी हाम्रो मानवीय धर्म, सामाजिक भावना, सेवामूलक सोच र कर्तव्यको बाटो बिर्सँदै आफू ठूलोबडो देखिने दौडमा रमाइरहँदा हाम्रो सामाजिक कर्तव्यबाट हामी विमुख बन्न पुग्छौँ । हामी सेवामुखीभन्दा प्रचारमुखी, सन्देशमूलकभन्दा भ्रामक, संवेदनशीलभन्दा संवेदनाहीन नबनौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here