काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै नेपाल प्रहरीले आफ्नै आइसोलेशन केन्द्र बनाउन थालेको छ । भाइरस तीव्र गतिमा फैलिएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रहरी कार्यालयमा छुट्टै आइसोलेशन केन्द्र बनाउन थालिएकाे हो ।
प्रहरी प्रधान कार्यालयमा रहेका ४५ जना प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि आइसोलेशन कक्ष बनाउन थालिएकाे हो । निषेधाज्ञामा सुरक्षा व्यवस्था चुस्त बनाउन धेरै प्रहरी कर्मचारी सडकमा परिचालित भएपछि उनीहरुमा पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । सीमा नाकादेखि विभिन्न जोखिमयुक्त क्षेत्रमा खटिएका प्रहरी कोरोना संक्रमणबाट सुरक्षित रहनु पनि चुनौतिपूर्ण छ ।
यस्तो विषम परिस्थितिमा अहोरात्र खटिएका सुरक्षाकर्मीका लागि सुरक्षित रहेर ‘ड्यिुटी’ गर्न निर्देशन दिइएको भएपनि कुनै न रुपमा संक्रमण बढ्न थालेको प्रहरी प्रधान कार्यालयको भनाई छ । सुरक्षित भएर काम गर्दागर्दै कतिकतै संक्रमित भइहाले कसरी उपचार गर्ने भनेर पनि व्यवस्थापन गर्न प्रहरीले आआफ्नो युनिटलाई निर्देशन दिइसकेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दोस्रो लहरको कोेरोना संक्रमण देशभरका ९३ प्रहरीमा देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसपछि नेपाल प्रहरीले ७७ जिल्ला र सबै इलाका प्रहरी कार्यालयमा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले पर्याप्त सावधानी अपनाउन र कार्यालयभित्र आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको जनाएको हो ।
नेपाल प्रहरीका एसएसपी एवं प्रवक्ता वसन्त बहादुर कुँवरले तीव्र गतिमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै मातहतका कार्यालयमा आआफ्नै आइसोलेन बनाइएको र बनाउन बाँकी रहेकालाई पनि निर्देशन दिइएको जनाए । ‘हामीले विभिन्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा आफ्नै आइसोलेसन कक्ष बनाएका छौँ, काठमाडौंको हकमा २ नम्बर गण, पहरा गण र विपत् व्यव्स्थापन महाशाखामा ५०० बेडको आइसोलेसन बनेका छन्,’ प्रवक्ता कुँवरले जनाए।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जना प्रहरीमा पनि संक्रमण देखिएको छ । रानीपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक ‘एसपी’ सुशीलसिंह राठौरले कार्यालयमा कार्यरत प्रहरी, ट्राफिक प्रहरीमा संक्रमण देखिएको जनाए । प्रहरीले देशभरका प्रहरी कार्यालयमा बनाइएका आइसोलेशन कक्षमा नियमित डिउटीमा खटिने प्रहरीलाई राख्न बनाएको हो । प्रहरी प्रधानकार्यालयमा कार्यरत अधिकृतले घरमै आइसोलेशनमा बस्नुपर्नेछ ।


















