राष्ट्रियसभा उपनिर्वाचनको मनोनयनका लागि उम्मेद्वारले दश हजार रुपैयाँ बुझाउन पर्ने ताेकियाे

146

काठमाडाैं । बागमती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनको मनोनयनका लागि उम्मेद्वारले दश हजार रुपैयाँ बुझाउन पर्ने भएकाे छ।

बुधबार निर्वाचन आयोगले मनोनयनबारे जानकारी दिँदै उम्मेद्वारले दश हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने निर्णय सुनाएको हो।

निर्वाचन आयोगले वाग्मती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन गर्दैछ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेद्वारको हकमा भने धरौटी रकममा पचास प्रतिशत छुट हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उक्त सुविधाका लागि आर्थिक रुपले विपन्न भएको सिफारिसपत्र अनिवार्य आवश्यक पर्नेछ। यस्तै, उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए राजीनामा दिनुपर्छ।

सम्पति विवरण पेश गर्नुपर्ने

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ। आयोगका अनुसार उम्मेद्वारी पत्रमै सम्पति विवरणमा घर संख्या, घर रहेको स्थान, जग्गाको विवरण उल्लेख गर्नुपर्ने छ।

वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि रिक्त भएको ती पदमा उपनिर्वाचन हुन लागेको हो। बादल एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेको छ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको भए भए नाम फिर्ता लिनुपर्ने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उम्मेदवारले मनोनयनपत्र सँगै के के बुझाउनु पर्छ?

क) उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

ख) उम्मेदवारको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

ग) निर्वाचन अधिकृतको कार्यालयमा रु दश हजार रुपैयाँ धरौटी जम्मा गरेको रसीद वा भौचर,तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ। साथै आर्थिक रुपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनु पर्नेछ।

घ) दलले आफ्नो दलको तर्फबाट उम्मेदवार मनोनयन गरेको औपचारिकपत्र,

ङ) उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणितहुने निस्सा,

च) उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा,

छ) प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण,

ज) प्रस्तावक र समर्थकको मतदाता नम्बरः

झ) उम्मेदवारको सम्पत्ति विवरण

१. घर संख्याः

२. घर रहेको स्थानः

३. जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं, कि.नं.,क्षेत्रफल)

ञ) उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा,

ट) सम्वत् २०७४ सालको प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here