बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम

60

बैतडी । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि जिल्ला कारागार बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम बढेको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७१ जना कैदीबन्दी रहेका छन्।

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको र व्यवस्थापनमा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए। ‘कैदीबन्दी बढी हुँदा कोराना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ,’ उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीहरुलाई राख्नु परेको छ।’

कारागारमा अहिले ३८ जना कैदी र ३३ जना थुनुवा छन्। भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट टाँगेर बसोबासको व्यवस्था मिलाइएको जेलर तिवारीले जनाए। उनले भने, ‘जसोतसो व्यवस्थापन भइरहेका कारागारमा संक्रमणको जोखिम पनि बढ्दै गएको छ। तर हालसम्म कैदीबन्दीमा समेत संक्रमण देखिएको छैन।’

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भेटघाटको कार्यक्रम बन्द गरिएको जेलर तिवारीले जनाए। उनले भने, ‘कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा संक्रमणको जोखिम हुने भएकाले भेटघाट बन्द गरेका छौं।’

वि.सं. २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here