काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारको गैरजिम्मेवार रवैयाले कोरोना महामारी नियन्त्रण बाहिर जान लागेको जनाएका छन् ।
नेपाल संक्रमण र मृत्युदर दुवै कोणबाट विश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गरेका नेता श्रेष्ठले सरकारले समयमा आवस्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले यस्तो स्थिति आएको जनाएका हुन् ।
सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाएर जानुपर्ने बताउँदै श्रेष्ठले यद्यपि यो सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पिडादायी स्थिति आएको समेत टिप्पणी गरेका छन् ।
‘यस्तो बेलामा सवैले स्वास्थ्य मापदण्डको पालना गरेर आफुलाई सँक्रमणबाट बचाउनु मात्र पनि राम्रो कुरा हो । तर राजनीतिक नेता, कार्यकर्ता, संगठन र समाजसेवीहरुले आफुलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्दछ,’ नेता श्रेष्ठले भनेका छन्, ‘त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन । भेरी अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु प्रति सम्मान ब्यक्त गर्दै उहांहरुको बाटो अनुशरण गर्न तयार होऔं । जे जसरी सहयोग गर्न सकिन्छ गरौं ।’


















