एजेन्सी । एसी मिलानसँग पराजय भोगेपछि युभेन्टसको शीर्ष चारमा पर्ने लक्ष्यमा धक्का पुगेको छ । गत सिजनको च्याम्पियन युभेन्टस चौँथौँ स्थानको नेपोली भन्दा एक अंकले पछाडि परेको छ । लिगमा युभेन्टसले तीन खेल खेल्न बाँकी छ । जसमा च्याम्पियन इन्टरविरुद्धको खेल पनि सम्मिलत छ । त्यसकारण नेपोलीसँगको अंक भिन्नता धेरै नभएपनि युभेन्टस दबाबमा छ । उता नेपोलीले उडिनेजे, फियोरेन्टिना र हेल्लास भेरोनासँग खेल्न बाँकी छ ।
युभेन्टसको शीर्षचारमा पर्ने सम्भावना कमजोर बनेपनि प्रशिक्षक पिर्लोले आफू पद त्याग गर्ने सोचाइमा नरहेको बताएका छन् । ‘मैले युभेन्टसमा अझैँ पनि उत्साहित नै छु । तीन खेल बाँकी छ । त्यसकारण आशा सकिएको छैन । मलाई जबसम्म युभेन्टसमा रहन दिइन्छ, म आफ्नो काम जारी राख्छु,’ मिलानसँग घरमै हारेपछि पिर्लोले स्काई स्र्पोटर्ससँग कुरा गर्दै भनेका छन् ।
पिर्लोले युभेन्टसमा आफूले योजना बनाए अनुसारको काम गर्न नसकिरहेको समेत जनाए । ‘मैले सोचे अनुसारको खेलाडी टिममा छैनन् । भएका खेलाडीहरूको उपयोग गर्दा आफूले सोचेको शैलीमा खेलाउन पाएको छैन । तर जे जस्तो नतिजा आएको छ म त्यसको जिम्मेवारी लिन्छु,’ पिर्लोले भने ।


















