कुल बजेटको वैशाखसम्ममा ५६ प्रतिशत खर्च

67

काठमाडौं । विनियोजनका तुलनामा न्यून बजेट खर्च हुने प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल पुँजीगत बजेट विनियोजनको ३५.६७ प्रतिशत मात्रै खर्च भएको छ।

चालु आर्थिक वर्ष २०७७र७८ मा विकास लक्षित पुँजीगत खर्चका लागि रु. ३ खर्ब ५२ अर्ब विनियोजन गरिएकोमा १० महीना सकिँदासम्ममा रु. १ खर्ब २५ अर्ब मात्रै खर्च भएको छ। पुँजीगत बजेट न्यून खर्च हुनुले विकास निर्माणका गतिविधि अपेक्षाअनुसार अघि नबढेको संकेत गर्छ।

अहिलेसम्म खर्च न्यून मात्रै भएकाले बाँकी दुई महीनामा लक्ष्यअनुसार खर्च गर्न हरेक दिन रु. ३ अर्ब ७८ करोड पुँजीगत खर्च गर्नुपर्छ। तर, महामारीका कारण कयौं परियोजनाको काम रोकिएकाले आगामी दिनहरूमा पनि लक्ष्यअनुसारको रकम खर्च हुन कठिन छ।

हरेक वर्ष पुँजीगत खर्च लक्ष्यअनुसार नहुने र अन्य महीनाका तुलनामा वर्षान्तका दुई महीनामा धेरै हुने प्रवृत्ति देखिदै आएको छ। यस्तो प्रवृत्ति देशको आर्थिक विकासका लागि घातक भएको जानकारहरू बताउँदै आएका छन्।

महालेखाका अनुसार, यो वर्ष छुट्याइएको कुल बजेटको वैशाखसम्ममा ५६ प्रतिशत खर्च भएको छ। यो आर्थिक वर्षका लागि रु. १४ खर्ब ७४ अर्ब बजेट विनियोजन गरिएको थियो। यद्यपि, मध्यावधि समीक्षामार्फत बजेटको आकारलाई घटाएर रु। १३ खर्ब ४८ अर्ब बनाएको छ।

महामारीका कारण यो वर्ष राजस्वको संसोधित लक्ष्य पनि पूरा गर्न कठिन हुने देखिएको छ। आर्थिक वर्ष सकिन दुई महीना बाँकी हुँदा राजस्व संकलन कुल लक्ष्यको तीन चौथाई मात्रै भएको छ। वैशाखसम्ममा रु. ७ खर्ब ६१ अर्ब राजस्व संकलन भएको छ।

यो वर्ष रु. १० खर्ब ११ अर्ब राजस्व संकलनको लक्ष्य थियो। बजेटको संसोधनमार्फत राजस्व संकलनको लक्ष्य ९ खर्ब ६० अर्बमा झारिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here