आर्थिक वर्षको बजेटको प्रारम्भिक मस्यौदा तयार

283

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट सिर्जित परिस्थिति नियन्त्रण र समग्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । विद्यमान परिस्थिति र सरोेकारवाला विभिन्न पक्षको सुझावलाई समेत ध्यान दिँदै बजेटको प्रारम्भिक रूपरेखा तयार भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । “बजेटको प्राविधिक तयारीको काम रफ्तारमा भइरहेको छ,” उनले  भने, “अहिलेसम्म प्रारम्भिक खाका बनिसकेको छ । ”

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने हुन्छ । सोही मितिलाई लक्षित गर्दै समय तालिकाअनुसार नै बजेट निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिए । “कोभिड महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई केन्द्रमा राखेर बजेटको खाका बनेको छ,”उनले  भने। उहाँका अनुसार आगामी बजेटमा स्वास्थ्य पूर्वाधार, खोप खरिद तथा स्वास्थ्य उपकरणको व्यवस्थापनमा सबैभन्दा धेरै बजेट विनियोजन हुनेछ । त्यसपछि कोरोना सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्र सुधारलाई बजेटले सम्बोधन गर्नेछ ।

प्राथमिकतामा यिनै विषयलाई टुङ्ग्याउँदै बजेटको खाका बनेको आर्थिक सल्लाहकार श्रेष्ठले जानकारी दिए । “अब यही खाकामा आवश्यक संशोधन र अध्ययन गरेर बजेट लेखन जारी रहन्छ,” उनले भने, “अन्तिमसम्म धेरै विषयमा संशोधन पनि हुन सक्छ । ” आगामी आवको बजेट लेखन सुरु गर्नुपूर्व मन्त्रालयले विभिन्न राजनीतिक दलका सांसद, मन्त्रालय, विषयविज्ञ र विभिन्न सङ्घसंस्थाबाट सुझाव लिइसकेको छ । त्यस्तै बजेटमा आवश्यक सुझावका लागि गठन गरिएका विभिन्न उपसमितिले पनि सुझाव तयार गरिसकका छन् तर अब भने मन्त्रालयले बजेटका लागि सुझाव लिने काम बन्द गरेको छ । अहिलेसम्म प्राप्त सुझाव समेटेर बजेट निर्माणलाई गति लिनेतर्फ मन्त्रालय अगाडि बढेको छ । बजेटसँगै आगामी आवको राजस्व नीति पनि आउने भएकाले करका दर र दायरामा समेत मन्त्रालयले छलफल अगाडि बढाएको छ । यद्यपि यस्ता करका दरहरू भने बजेट लेखनको अन्तिम समयमा मात्र टुङ्गो लगाइने श्रेष्ठले जनाए। “समग्रमा आर्थिक पुनरुत्थानलाई सहयोग गर्नेगरी नै कर नीति आउँछ,” उनले  भने ।

त्यस्तै राष्ट्रिय योजना आयोगले तोकेको सिलिङभित्रै रहेर बजेटको आकार बनाउने तयारी भइरहेको  उनले  जनाए। स्रोत व्यवस्थापनका आधारमा सिलिङभन्दा केही बजेटको आकार तलमाथि हुने सम्भावना पनि रहने उनको भनाइ छ । आगामी आवका लागि आयोगले १६ खर्ब ९७ अर्ब ५७ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । चालू आवमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

बजेटको काम भौतिक रूपमै

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि धेरै काम अहिले अभौतिक माध्यमबाट भइरहेका छन् तर अर्थ मन्त्रालयमा भने यतिबेला बजेट तयारीको काम गर्न भ्याइनभ्याई छ ।

सामान्यतः बिहान ८ः०० बजेदेखि नै मन्त्रालयमा सचिव, विभिन्न महाशाखा प्रमुख, सहसचिव र कर्मचारी जम्मा भएर काम हुन थाल्छ । यस्तो क्रम हरेक दिन रातिसम्म जारी नै रहन्छ । जोखिमकै अवस्थाबीच मन्त्रालयमा भौतिक दूरी कायम गरेर बजेट लेखन, छलफलको काम भइरहेको श्रेष्ठले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here