भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै

48

भक्तपुर । भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन्। कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ।

भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसँगै भक्तपुरमा संक्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल संक्रमित रहेकामा चार हजार ५५५ सक्रिय संक्रमित छन्। अस्पताल तथा विभिन्न आइसोलेसनमा २३९ संक्रमित छन्। होमआइसोलेशनमा चार हजार १३४ बिरामी छन्। अहिलेसम्म १२ हजार ९९० संक्रमित निको भएका छन्।

संक्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ। गएको दुई सातादेखि भक्तपुरमा लगातार संक्रमितको मृत्यु भइरहेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितले शय्या पाउन सकिरहेका छैनन्। शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउँछन्। अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको छ।

सक्रिय संक्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत संक्रमण र मृत्युदर कमी रहेको छ।

जिल्लामा चार हजार ५५५ सक्रिय संक्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन्। संक्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उनको भनाइ छ। उनका अनुसार संक्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ।

संक्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन्। अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोना संक्रमित बिरामीले भरिएको बताइन्। उनले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताइन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here