आजदेखि मण्डनदेपुर, बनेपा र पनौती दश दिन सिल

133

काभ्रेपलाञ्चोक । पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् ।

दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भन्नुभयो । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । जेठ ८ गतेबाट सिल गरेको पनौती नगरले पनि पहिलोपटक पाँच दिन सिलको समयावधि थपेको छ ।

सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै मण्डनदेउपुरसहित काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले हाल आफ्नो क्षेत्र सिल गरेका छन् । बनेपा, धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगर, मण्डनदेउपुर नगर, रोशी गाउँपालिका, बेथानचोक र भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् ।

पाँचखाल नगरले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाएको छ । साथै सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लामा १० दिन निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ४९९ सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ६४० सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २२ प्रतिशत अर्थात् ५८१ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ४७०, पनौतीमा ४६१, पाँचखालमा ३२५, नमोबुद्धमा १६९, मण्डनदेउपुरमा १६९ तथा रोशी गाउँपालिकामा ९७, चौँरीदेउरालीमा ६४, तेमालमा ५२, भुम्लुमा ८६, खानीखोलामा ३९, बेथानचोकमा ८५ र महाभारत गाउँपालिकामा ४२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कूल सङ्क्रमितमध्ये ९४ दशमलव ५८ प्रतिशत अर्थात् दुई हजार ४९७ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ११४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।-रासस/File Photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here