काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पिसीआर परीक्षण गरेपछि त्यसको फोटो फेसबुकमा राखेर ‘मलाई केही भएको छैन’ भन्दै बाहिर जथाभावि घुम्न नजान महानगरवासीलाई अनुरोध गरेका छन् ।
उनले पिसिआर परीक्षणपछि केही भएको छैन भन्दै साथीभाइवीच भेटघाट र पारिवारीक तथा अन्य जमघट गरेका कारण पनि संक्रमितको संख्या बढ्न गएको जनाए ।
मेयर शाक्यले बिहीबार भर्चुअलमाध्यमबाट नगरवासीलाई यस्तो अनुरोध गर्दै पहिलो चरणमा कोरोना महामारी रोकथाम गर्न सफल भएको भएपनि दोस्रो लहरमा अलि लापरवाहीका कारण यसको रोकथाम गर्न गाह्रो भएको समेत जनाए ।
‘मैले पटक–पटक भन्ने गरेको छु, पिसीआर परीक्षण मात्र हो यो औषधि होइन । पिसीआर नेगेटिभ आउनु भनेको निरोगिताको प्रमाणपत्र होइन । त्यसलाई फेसबुकमा राखेर आफ्नो कार्डको रुपमा प्रयोग गरेर मलाई त केही पनि भएको छैन भनेर बजारमा लुरु–लुरु हिँड्न थाल्दाखेरी र परिवारमा स्वास्थ्य मापदण्ड पालना गरेर नबस्दा त्यसले कुनैपनि बेला जो घरबाहिर नगएर बसिरहेका छन्, आमा बुवा बच्चाहरुलाई सर्नसक्ने सम्भावना धेरै रह्यो ।’
मेयर शाक्यले आजदेखि महानगरवासीमा ऐन्टिजेन परीक्षण सुरु गरेको बताउँदै परीक्षण पछि घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । उनले सरकारसँगै नागरिकको पनि कोरोना नियन्त्रणमा प्रमुख दायित्व हुने भन्दै त्यसको पालना गर्न अनुरोध समेत गरे ।
‘परीक्षण पछि पोजेटिभ देखिएमा आत्तिने र निरास हुनुहुँदैन । पोजेटिभ हुनुले आफ्नो मनबोल उच्च बनाउनु पर्ने तथा छरछिमेक परिवारले पनि उसलाई नराम्रो काम गरेर आएजस्तो छिःछि दुर दुर नगरौं । सरिसक्यो त्यसलाई उपचार गर्न जरुरी हुन्छ । त्यस्ताले सुरक्षित साथ आसोलेशनमा बस्नु घरमा त्यस्तो वातावरण नभएमा महानगर तथा अन्य संघसंस्थाले सन्चालन गरेका आइसोलेशनमा बस्न अनुरोध गर्छु ।’
मेयर शाक्यले कोरोनाका गम्भीर विरामीका लागि दुईवटा एम्बुलेन्स एउटा कोभिडका विरामी बोक्ने र अर्को ननकोभिडका विरामी बोक्ने एम्बुलेन्सको व्यवस्था गरेकाले सम्पर्क गर्न अनुरोध गर्दै त्यस्तो भएमा तत्कालै अस्पताल लगिने समेत जानकारी दिए । मेयर शाक्यले यसका लागि ११८० र १०२ मा फोन गर्न अनुरोध गरेका छन् ।
मेयर शाक्यले तत्काल महानगरले नै तत्काल कोभिड अस्पताल बनाउने सुझाव भएको भएपनि राम्रो काम गरेका सरकारी सामुदायिक अस्पताल सँग मिलेर काम गर्ने भन्दै सहकार्य गरेको जनाए ।
मेयर शाक्यले नगर–नगर साझेदारी अन्तर्गत काठमाडौं महानगरभित्र ४२ वटा र काठमाडौं बाहिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिकासँग सहकार्य गरेर ४५ वटा भेन्टिलेटर राख्ने सम्झौता गरिसकेको बताए । उनले कही खरिद लगायतका अन्य प्रक्रिया पुर्याएर जडान गरिसकेको र केही खरिद प्रक्रियामा अगाडि बढेको जनाए ।
‘महानगरको सम्झौता अनुसार टिचिङ अस्पताल महाराजगन्जमा १० वटा भेन्टिलेटर जडान गरेर सेवा सुरु गरिसकेको छ । विर अस्पतालसँग १५ वटा सम्झौता भए अनुसार खरिद प्रक्रियामा रहेको जानकारी पाएका छौं । गंगालालमा अस्पतालमा ५ वटा, सामुदायिक अस्पतालका रुपमा महानगरले आफ्नै नाउँमा छत्रपाटी निःशुल्क कोभिड विशेष अस्पताल समेत सन्चालनमा ल्याइसकेका छौं । त्यहाँ ४ वटा भेन्टिलेटर, ६ वटा आइसीयुसहित ४० बेडको अस्पताल संचालनमा ल्याइसकेका छौं ।’ उनले भने ।
मेयर शाक्यले महानगरको खर्चमा नरदेवी अस्पतालमा पनि ५० बेडको अक्सिजन थेरापी सहितको आइसोलेशन सेन्टर र राधास्वामी सत्संगको भवनमा पनि महानगरकै खर्चमा आइसोलेशन केन्द्र स्थापना गरेको त्यहाँको जिम्मा सेनाले लिएको जानकारी दिए ।
मेयर शाक्यले मोडलमा २ वटा, हेल्पिङ ह्याण्डसमा २, महेन्द्र नारायणनिधी सामुदायिक अस्पतालमा २, टेकु अस्पतालमा २ वटा लगायतका केही अस्पतालमा भेन्टिलेटर संचालनमा ल्याएको जनाए ।
उनले संघीय सरकार र प्रदेश सरकारले गरेका काममा केही अपुग छन् भने महानगर सहयोग गर्न तयार रहेको सरकारी अस्पताल र सामुदायिक अस्पताललाई अनुरोध गरेको जनाए ।
मेयर शाक्यका अनुसार हाल महानगरले ३२ वटा सामुदायिक स्वास्थ्य क्लिनक संचालन गरेर उपचार गरिएको र क्लिनिक मार्फत पनि पिसीआर र ऐन्टिजेन परीक्षण गरीएको उनले जानकारी दिए ।


















