नेपालको सन्दर्भमा “खस” जेठो आगन्तुक जाति हो

129

–चन्द्रप्रकाश बानियाँ

खसहरु आन्दोलित छन् । उनीहरुको आन्दोलन आफ्नो जातिलाई आर्यबाट अलग गरेर संवैधानिक मान्यता दिलाउनतिर लक्षितट छ । “खस” भनेको एउटा प्राचीन जातिको नाम हो । जातिको नाम खस किन कसरी र कहिलेदेखि रहन गएको हो भन्ने कुराको जानकारीका लागि प्राचीन इतिहासको उत्खनन् गर्नुपर्ने हुन्छ । खसको अर्थ के हो ? यसको उत्पत्ति वा निर्माण कसरी र कहाँ भएको हो भनेर तिथिमिति किटान गर्न गाहारो छ । यो शब्दको प्रयोगको निरन्तरता मात्रै पनि निकै लामो छ । खस शब्द प्रयोगको इतिहास खोजी अध्ययन गर्दा यस शब्दको प्रयोग यो हिमवतखण्ड अर्थान प्राचीन भारतवर्ष बाहिर प्रयोग भएको जस्तोे देखिदैन । त्यसैले यो शब्द यहीँ यतैतिर बनेको हो कि जस्तोे लाग्छ । तर खोजी गर्दैजाँदा खसको ऐतिहासिक बसोबासको प्रमाण पश्चिम एसिया र मध्यपूर्वसम्म फेला पर्दछ ।

एउटा विचित्रको र असंगत भन्न मिल्ने कुरा के देखिन्छ भने सबभन्दा पुरानो लिखत भनेर दावी गरिने ऋग्वेदमा खस शब्द परेको छैन । खस र आर्यको मूल एउटै हो भन्नेहरुलाई त्यो गतिलो जवाफ हो । अर्थात वैदिक आर्य समाजले खसलाई चिन्दैनथ्यो वा ती दुई जातिको आपसमा चिनाजानी थिएन भन्ने उदाहरण हो । वेदभन्दा पछि लेखिएका संस्कृत ग्रन्थहरुमा “करस्कर” र “खस” दुईवटा शब्द भेटिन्छन् । यी दुई शब्द पर्याय हुन् कि होइनन् भनेर किटानी गर्न सकिदैन । पछिल्ला लेखोटहरुमा “शक” र “खस” शब्दलाई पनि अलग गरेर प्रयोग गरेको देखिन्छ । त्यसैल खस शब्द शकबाट होइन, करस्करबाट बनेको हो कि भनेर अनुमान गर्न सकिन्छ ।

खस नामको जातिको अस्तित्व मूलतः नेपालभित्र देखिने भए तापनि खस जातिसंग सम्बन्ध देखिनेगरी नामाकरण भएका अनेकौं ठाउँ, नदीनाला, पहाड र बस्ती, नगरहरु रहेका देखिन्छन् । खसको डोरोेमेलो पछयाउँदै जाँदा खासगरेर नेपालको पश्चिमोत्तर दिशा हुँदै मध्यपूर्व, पश्चिम एशिया र ककेसस पर्वतमालासम्म पुग्न सकिन्छ । त्यसरी विचरण गर्दा खस नाम ककेसस, ककस, कस हुँदै खस हुन गएको होला भन्ने निष्कर्ष निस्कन्छ ।

खस जातिको प्रमाणिक इतिहासको खोजी गर्दै जाँदा पश्चिम एशियाको इराक इरान अर्थात पुरानो फारस र बेबिलोनियासम्म पुगिन्छ । इसापूर्व १७०० देखि ५०० सम्म कस जाति बेबिलोनिया र इरान साम्राज्यमा घुम्दै गरेका ऐतिहासिक प्रमाणहरु भेटिन्छन्। बेबिलोनियाँ (इराक)मा इसापूर्व १७०० देखि १२०० सम्म कसको राज्य कायम भएको देखिन्छ । इसापूर्व १२ सयतिर पश्चिम इरानमा खसजातिको उपस्थिति रहेको इतिहास प्रमाण भेटिन्छ । बेबिलोनियाका प्रख्यात सम्राट हम्बुरावीका छोरा सम्सुलुनाले खसहरुको आक्रमणबाट राज्य जोगाउन टिग्रिस नदीको दोभानस्थित दियाला भन्ने ठाउँमा मजबुत किल्ला निर्माण गरेको कुरा इतिहासमा उल्लेख छ र १७०० इसापूर्वतिर खसहरुले बेबिलोनियामा कब्जा गरेका थिए भनेर इन्साइक्लोपेडिया ब्रिटानीयाको भोल्युुम –२ उल्लेख भएको भेटिन्छ । खस राजा करनदासले इसापूर्व १४२० मा बेबिलोनियाको उरुक शहरमा आफ्ना देवता शुकामुनाको एउटा सुन्दर मन्दिर बनाएका थिए भनेर पनि लेखिएको भेटिन्छ ।

इसापूर्व १३४५–१३२५ तिर खस राजा करिगाल्स द्वितीयको समयमा असिरियाका असुर साजसँगको युद्धमा कसहरु पराजित भए तर पछि खसहले आफ्नो राज्य पून फिर्ता गरे तर इसापूर्व १२४२– १२३५ तिरको एलम र असरियाको संयुक्त मोर्चासँग कसहरु पराजित भए । इसापूर्व ११५५ मा कस जातिको राज्य पूर्णरुपमा समाप्त भयो । यसरी १७०० देखि ११५५ सम्म बेविलोनियामा कसहरुको राज्य रहेको इतिहास प्रमाण लाग्दछ । इन्साइक्लोपेडिया ब्रिटानिका भोल्युम–२ मा बेबिलोनियाको उत्खननबाट कस राज्यकालका ३०० जति माटाका प्लेटमा कस भाषामा उत्किर्ण अभिलेखहरु भेटिएको कुरा लेखिएको छ ।

बेबिलोनियाबाट खेदिएका कसहरुले पूर्वतर्फ लागेर इरानी साम्राज्यको निर्माण गरे । कस राजाहरु कुरुष र दारा प्रथमले पञ्जावसम्म आफ्नो राज्य विस्तार गरेपछि अर्को ५०० वर्षजति खसहरु त्यतै अलमलिए । पश्चिम एशिया र मध्यपूर्वतिर खसहरुको बसोबासको प्रमाण खस जातिको नामबाट बनेका अनेक ठाउँ, राज्य र नदीहरुले दिन्छन् । इरान र इराककोबीचमा खसहरु बसेको ठाउँलाई अहिलेसम्म पनि खसिस्तान भनिदै छ । अफगानिस्तानमा खसमरुभूमि छ । हेल्मन्ड तलाउमा मिसिने नदीलाई खसनदी भनिन्छ । अफगानिस्तानमा “बडाखसान” नामको प्रान्त छ । हिन्दूकुश पर्वतमाला र कासगर नामका पर्वतहरुको नाम खस जातिसँग जोडिएका छन् । बाह्रौं शताब्दीमा लेखिएको राजतरङ्गिणीमा कासमिरमा खसहरुको राज्य रहेको कुरा लेखिएको छ । बेबिलोनियामा कस भनेर चिनिएको जाति अफगानिस्तानसम्म आइपुग्दा खस भनिन थालेको थियो भन्ने कुराको प्रमाण त्यस क्षेत्रमा रहेका ठाउँ, नदी, र पहाडहरुकोका नामहरुले दिन्छन् । खस र आर्य फरक जाति हुन् । दुबै समूह मध्यपूर्व हुदै भारतीय उपमहाद्वितिर संक्रमित भएका हुन तापनि खस र आर्यको आगमन मार्ग र समय फरक थियो । ती दुई जातिहरु एक अर्काको सभ्यतासँग अपरिचित थिए भन्ने कुरा वैदिक साहित्यमा कतै कहीँ पनि खस जातिको बारेमा उल्लेख नभएबाट पुष्टि  हुन्छ ।

कस (खस) जातिको बसोबास रहेकै कारणले एउटा विराट भूखण्डमो नाम कास्मीर रहन गको हो । कासमिरको पूर्वरुप खस(जाती)को मिर (बस्ती) भन्ने अर्थमा खसमिर बन्यो र खसमिर हुँदै कसमिर, कास्मिर हुन गएको हो । अफगानिस्तानतिर झरेका खसहरु कालक्रममा बाल्हिक, कास्मिर हुँदै कुमाउ गढवालमा राज्य स्थापना गर्न आइपुगे । कुमाउमा कत्युरी राजवंशले २०० वर्षभन्दा बढी समयसम्म राज्य गरेको इतिहासप्रमाण छ । कुमाउको कत्युरी वंशका खस राजाहरु दक्षिणबाट उक्लेको चन्द वंशबाट पराजित भए । बाह्रौं शताब्दीमा गुँगे पुराङ अर्थात पश्चिम तिब्बतको ङारी प्रदेशबाट तलतिर झरेका नागराजले सिंजा राज्यको स्थापना गरे । नागरराजले पाल, बढुवाल, राउल, विष्ट, थापा, खड्का राजाहरुलाई मारेर सिंजा साम्राज्य स्थापना गरेका थिए भनेर श्रीपाली वंशावलीमा लेखिएको छ । त्यो लिखतले नागराज आउनुभन्दा धेरै वर्षअगाडिदेखि नेपालको पश्चिमी क्षेत्रमा खसहरुका ससाना भुरेटाकुरे राज्य रजौटाहरु स्थापना भएको कुरा खुल्दछ । आर्थत नागराजले गरेको खस साम्राज्यको स्थापना मितिको आधारमा खसहरुको आगमन बाह्रौं शताब्दीमा मात्र भएको थियो भनेर गरिने अनुमानलाई गलत सावित गरिदिन्छ । मानव समाज विकासको प्रारम्भिक चरण अर्थात पशुपालन युग अर्थात घुमन्ते युगमा  खस जातिले यस भूखण्डमा आफ्नो उपस्थिति जनाइसकेको थियो । नेपालको सन्दर्भमा खस एउटा प्राचीन जातिसमूह हो ।

आर्यहरु पनि इरानतिरबाट भारत आइपुगे, खसहरु पनि इरान इराक अफगानिस्तानहुँदै नेपाल आइपुगे भन्ने तथ्यले यो एउटै जातिसमूह थियो र यात्राक्रममा एउटा हाँगो सिन्धुघाँटीबाट पाकिस्तान छि¥यो अर्को हाँगो हिमालयको कछारै कछार नेपाल आइपुग्यो होला भनेर गरिने अनुमानमा सत्यता देखिदैन । ककेसस पर्वतमालाको वरपरबाट खसहरु सोझै तलतिर नझरेर किन मध्यपूर्व र पश्चिम एशियातिर पुगे होलान् भन्ने प्रश्नको उचित जवाफ नखोजिकन गरिने तर्क हो त्यो । मध्यपूर्व सभ्यताको जननी हो । कृषि क्रान्तिको उद्गमस्थल हो । मानिसले व्यवस्थित रुपमा अन्नबाली लगाउन सुरुगरेको ठाउँ हो मध्यपूर्व । सभ्यताको केन्द्र  युरोपतिर उक्लनुपूर्व उद्ययोग, व्यापार र कृषिको केन्द्र पश्चिम एशिया र मध्यपूर्व थियो । सभ्यता, संस्कृति र विकासले तत्कालीन समयमा मध्यपूर्व संसारभरकै मानिसहरुको लागि आकर्षणको केन्द्र थियो । संसारभरबाट सरल जीविका, र सुविधायुक्त जीवनको खोजीमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा बसाई

सर्थे । यूरोप, एशिया र अफ्रिकाबाट मानिसहरु मध्यपूर्वतिर लाग्थे । त्यही सिलसिलामा ककेसस पर्वत वरपर विकसित भएको जाति खस मध्यपूर्वतिर  आकर्षित हुनु स्वभाविक थियो । ककेसस पर्वत क्षेत्रबाट सोझै तलतिर नझरेर खसहरु पश्चिमतिर तानिनु अर्थात बसाईसराइका लागि यात्राको प्रारम्भ पशिच्माभिमुख रहनु स्वभाविक थियो ।

यो पृथ्वीतलमा वर्तमानमा अस्तित्वमा रहेको मानवजाति होमोसेपियन्स हो । यस जातिको उत्पत्तिस्थल अफ्रिका महादेशको पूर्वी खण्ड हो भनेर मानिन्छ । त्यहीबाट निस्केर होमोसेपियन्सले संसारभर कब्जा जमाएको हो । त्यसैले अफ्रिका महादेशबाहेक बाँकी विश्वमा बसोबास गर्ने मानववंश आगन्तुक हो । त्यस दृष्टिले नेपालका खसहरु पनि आगन्तुक नै हुन् । त्यसको मतलब खसबाहेकका बाँकी जातिजनजातिहरु रैथाने हुन्, खस मात्रै आगन्तुक हो भनेको होइन । जसरी अन्य जातिजनजातिहरु समयक्रममा घुम्दैफिर्दै नेपाल प्रवेश गरेका हुन्, त्यसैगरी खस जाति पनि यो भूखण्डमा आइपुगेको हो ।

हिमवतखण्डमा किराँत जातिलाई सर्वप्राचीन हो भनेर मान्ने चलन छ । हिमालयको काखमा सबभन्दा पहिला देखिएको जाति किराँत हो भनिन्छ । त्यस अर्थमा यस क्षेत्रमा किराँतको उपस्थिति ५ हजार वर्ष अघि नै भएको हो । उपस्थितिका दृष्टिले खस पनि किराँतको समकालीन हो भन्ने प्रमाण लाग्दछ । मानव विकासको फिरन्ते पशुपालक चरणदेखिनै खसहरुको उपस्थिति यस क्षेत्रमा थियो भन्ने मान्यता इतिहास अनुसन्धाताहरुको रहेको छ । किराँत र खसामध्ये कुन जाति यस क्षेत्रमा पहिले प्रवेश गरेको हो भनेर किटान गर्न सकिने कृुनै प्रमाण फेला पर्दैन । नेपालको पूर्वी खण्डमा जुन समयदेखि किराँत जाति रहँदै बस्दै आएको छ लगभग त्यही समयकालदेखि  पश्चिमी खण्डमा खसको उपस्थिति रहेको देखिन आएको छ । किराँत र खस दुबै जाति वैदिक कालभन्दा  अगाडिका हुन् भनेर मानिन्छ । हिन्दू र बौद्ध धर्मको उत्पत्ति, विकास र प्रवेश पूर्वदेखि यस क्षेत्रमा किराँत र खसको उपस्थिति थियो । त्यसैले यी दुबै जातिलाई प्राग्वेैदिक जाति पनि मानिने गरेको छ । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here