काठमाडौं । अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय र टि-२० विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएको छ । मंगलबार बसेको आइसिसीको बोर्ड बैठकले एकदिवसीय विश्वकप र टी-२० विश्वकपमा सहभागी संख्या बढाउने र च्याम्पियन्स ट्रफी फेरि सुचारू गर्ने निर्णय गरको हो ।
आइसिसीका अनुसार सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकपमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ । यस विश्वकपमा सहभागी हुने १४ राष्ट्रलाई २ समूहमा विभाजन गरिनेछ । दुवै समूहमा ७/७ टोली सहभागी हुनेछन ।
यस्तै टी-२० विश्वकपमा सहभागी टिम संख्या २० पुर्याउने निर्णय भएको छ । सन् २०२४, २०२६, २०२८ र २०३० को टी-२० विश्वकपमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ । टि-२० विश्वकपमा सहभागी हुने २० टिमलाई ४ समूहमा बाढिने छ । प्रत्येक समूहका शीर्ष दुई टिम सुपर आठमा प्रवेश गर्नेछन ।
त्यसैगरी २०२५ र २०२९ को आइसिसी च्याम्पियन्स ट्रफीमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन । आइसिसी च्याम्पियन्स ट्रफी भाग लिन राष्ट्रलाईे दुई समूहमा ४/४ टिममा बाढिने छ ।
एकदिवसीय र टी–२० विश्वकपमा टिम संख्यामा वृद्धि भएसँगै सन् २०२४ मा नेपालले विश्वकप खेल्ने सम्भावना बढेर गएको छ । सन् २०२२ को टी–२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ। २०२३ को एकदिसवीय विश्वकपमा लागि भने नेपालले क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्दैछ ।


















