काठमाडौं । कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै बन्द भएको अन्तर्राष्ट्रिय उडानहरु ३ जुन(बिहिबार)बाट शुरु हुने भएको छ ।
रोकथामका लागि तेस्रो मुलुक हवाई उडान रोकेको सरकारले विहिबारदेखि दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्न लागेको हो । नागरिक उड्ययन प्रधिकरणले बिहिबारबाट विशेष उडान सुरु गरिने जानकारी दिँदै उडान तालिका सार्वजनिक गरेको छ ।
पहिलो उडानका रुपमा बिहिबार टर्किस एयरलायन्सले इस्तानबुल–काठमाडौँ– इस्तानबुलको उडान गर्नेछ । प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार बिहान ११.१५ बजे नेपाल अवतरण हुने टर्किस एयरलायन्स इस्तानबुलका लागि साँझ २३ः०५ बजे उड्ने छ ।
नेपाल एयरलायन्सले ७ जुन, सोमबार काठमाडौं–दोहा–काठमाडौं उडान भर्नेछ । साँझ २२ः०० बजे काठमाडौँबाट दोहाका लागि उडान भर्ने उक्त विमान विहान ९.१० बजे काठमाडौँ आइपुग्नेछ ।
७ जुन सोमबारै कतार एयरलायन्सले दोहा–काठमाडौं–दोहा उड्ने तालिका छ । जसअनुसार बिहान ९.१० बजे कतारबाट नेपाल आउने उक्त विमान साँझ ११.०५ दोहाका लाग उड्ने छ ।
अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवाका नियमित उडानमा रोक लगाएको सरकारले भारतसँगको उडान भने नियमित राखेको छ । दिल्ली उडान हप्तामा दुईटा रहेको छ । नेपाल एयरलायन्स ले प्रत्येक बुधबार र एयर इण्डियाले प्रत्येक शुक्रबार उडान गर्नेछन् । यी उडानहरु यी एयरलायन्ससँग भएको सम्झौता अनुसार उडान भर्नेछन् ।
जसअनुसार काठमाडौं–दिल्ली–काठमाडौं उडान भर्ने नेपाल एयरलायन्सको उडान समय दिउँसो १५ः४५ काठमाडौं अवतरण गर्ने र साँझ ११ः०५ काठमाडौंबाट दिल्ली उड्नेछ ।
एयरइण्डिया प्रत्येक शुक्रबार भर्ने दिल्ली–काठमाडौं–दिल्ली उडान दिउँसो १४ः३५ बजे काठमाडौं अवतरण हुने छ भने साँझ १५ः३५ बजे काठमाडौंबाट दिल्ली उड्नेछ ।
सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।
चार्टरका मात्रै उडान भइरहँदा यात्रुलाई बढी भाडा असुलेका गुनासा आउने क्रम बढेपछि सरकारले तीन मुलुकका लागि जेठ १८ बाट उडान गर्न दिने निर्णय गरेको हो।
ती मुलुकबाट नेपाल आउने यात्रुले स्वास्थ्य मापदण्डकाे पालना भने गर्नुपर्नेछ । कोभिड- १९ संक्रमण विरुद्धको दुवै मात्रा खोप लगाएको यात्रु होम क्वारेन्टिनमा बस्नुपर्ने हन्छ । एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नु पर्नेछ।
अब विदेश जानै पर्ने र विदेशबाट नेपाल आउनेहरु पनि कनेक्टिङ फ्लाइट मिलाएर नेपाल आउन जान सक्नेछन् ।

















