काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुले लगतै क्युआर कोडसहितको अस्थाइ लाइसेन्स वितरण गर्ने भएको छ ।
जेठदेखि सुरु गरिने भनिएको अस्थायी लाइसेन्सको प्रक्रिया बैंशाख तेस्रो साताबाट जारी भएको निषेधाज्ञाको कारण पछि धकेलिएको थियो ।
अब निषेधाज्ञा लगातै लाइसेन्स कुरेर बसिरेहेको सेवाग्राहीले क्युआरकोड सहितको अस्थाइ लाइसेन्स पाउने भएका छन् ।
१ बर्षको अवधिको लागि मात्रै दिइने उ्रक्त लाइसेन्स ट्रायल पास गरेको व्यक्तिहरुले सम्बन्धित यातायात कार्यालय मार्फत पाउने विभागले जनाएको छ ।
यातायात विभागका महानिर्देशक नवराज घिमिरेले निषेधाज्ञा लगतै सेवाग्राहीलाई उक्त अस्थायी लाइसेन्स दिने तयारी रहेको जानकारी दिए । ‘हामीले एक महिना अगाडिनै दिने भएका थियौं तर, निषेधाज्ञाले रोकिदियो’ उनले भने ‘ विभागले सबै यातायात कार्यालयलाई दुई महिना अघिनै निर्देशन दिइसकेका थियौ’ ।
यातायात कार्यालयहरुले आवश्यक तयारी गरिसकेको जानकारी आएको उनको भनाई छ । अहिले स्मार्टकार्ड नभएको कारण स्मार्टलाइसेन्स छपाइ पूर्णरुपमा रोकिएको छ । यस्तो अवस्थामा लासेन्सको चाँपलाई कम गर्न सहयोग गर्ने विभागले जनाएको छ ।
केहि महिना सवारी अनुमति पत्र आवेदन रोकिने र स्मार्टकाड आएपछि स्मार्टलाइसेन्स धमाधम छपाइ गर्नेगरी विभागले रणनीति अपनाएको छ ।
स्मार्ट कार्डको अभावले लाइसेन्समा पनि समय लाग्ने भएकाले स्मार्टलाइसेन्स अभावको तत्कालको समस्यालाई समाधान गर्न अस्थाई लाइसेन्स पद्धती अपनाउन लागिएको हो ।
हाल विभागले १४ लाख स्मार्ट कार्डको लागी बोलपत्र आह्वान गरेको छ । यसअघि यातायात कार्यालयहरुले अस्थाई लाइसेन्सको रुपमा राजस्व बापत तिरके रसिद नै रहदै आएको छ । सेवाग्राहीले जहाँबाट ट्रायल पास भएको छ त्यहि यातायात कार्यालयबाट उक्त अस्थाइ लाइसेन्स छपाइ हुने छ ।
खर्च धेरै नलाग्ने, कम समयमा नै धेरै कार्ड बनाउन सकिने भएकाले यातायात कार्यालयहरुलाई नै अस्थाई कार्ड वितरण गर्ने जिम्मा दिइने भएको हो ।


















