काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी भएको एमाले स्रोतले जनाएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार कुन कुन मन्त्रालय कसलाई दिने भन्ने सूचीबारे आफूलाई जानकारी नभए पनि आज साँझ ५ बजेसम्म शपथको तयारी भइरहेको जनाए । प्रधानमन्त्री ओलीले हिजो राती जसपाका अध्यक्ष ठाकुरसँग लामो छलफल गर्नुभएको थियो । बालुवाटारमा भएको छलफलपछि आज जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो ।
यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरुले सम्हाल्नुभएका मन्त्रालय अहिले खाली छ । उहाँहरु पदमुक्त हुनुभएपछि सबै मन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँगै राख्नुभएको छ । सोही मन्त्रालय जसपाका नेताहरुलाई जिम्मा दिएर शपथ गराउने तयारी भएको छ ।
प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृह, उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् । सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हाल्नुहुने करिब तय भएको छ ।
जसपा स्रोतकाअनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा आजै सहभागी हुने तयारी गरेको छ । तर पार्टीको आन्तरिक निर्णय हुन अझै बाँकी रहेको नेता लक्ष्मणलाल कर्णले जनाए । “सरकारमा सहभागी हुने कुरा सही हो, अध्यक्ष ठाकुरले हिजो प्रधानमन्त्रीसँग छलफल पनि गर्नुभएको हो, तर उहाँहरुबीच के के विषयमा कुन कुन मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको हो पार्टीमा छलफल हुन बाँकी छ” उनले भने।
जसपा स्रोतले दिएको जानकारीअनुसार नेता राजेन्द्र महतोलाई उद्योग बाणिज्य तथा आपूर्ति, अनिल झालाई शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तवलाई खानेपानी, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यो कुरा अध्यक्ष ठाकुर र नेता महतोबीच करिब सहमति बनेपनि पार्टीका अन्य नेताहरुसँग छलफल गर्न बाँकी रहेको नाम कोट नगर्ने शर्तमा एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार तयारी भएपनि अहिलेसम्म अन्तिम टुङ्गो लाग्न सकेको छैन । जसपाको पार्टी निर्णय भएर तयारी साथ आएमा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नुहुने उनले जनाए।


















