इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा बदलिनेछ : हमास

77

एजेन्सी । गाजास्थित हमासका नेता याह्या सिनवारले इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा नै बदलिने दाबी गरेका छन्। भीषण लडाइँ बल्लतल्ल थेगिएको दुई साता नबित्दै हमासका नेताले यस्तो चेतावनी दिएका हुन्।

इजरायलले हमासको सुरुङ नष्ट गर्न खोजेपनि नसकेको सिनवारले बताएका छन्। प्यालेस्टाइनी हमासले गाजा क्षेत्रमा बनाएका यस्ता सुरुङका नेटवर्कलाई इजरायलले ‘मेट्रो’ उपनाम दिने गरेको छ।

शनिबार गाजामा एक सभालाई सम्बोधन गर्दै हमास नेता सिनवारले भीषण हमला गर्दा पनि इजरायलले ३ प्रतिशतजति क्षेत्रमा मात्रै नोक्सान पुर्‍याउन सकेको दाबी गरे। साथै, ११ दिनसम्म चलेको लडाइँमा हमासले आफ्नो सैन्य क्षमता परीक्षण गर्ने मौका पाएको पनि उनले उल्लेख गरे।

हमासका नेता अरब राष्ट्रहरूप्रति पनि असन्तुष्ट देखिएका छन्। इजरायलसँग अरब देशहरूले सम्बन्ध अघि बढाएकै कारण तेल अभिभले गाजामाथि हमला गर्ने हौसला प्राप्त गरेको उनले बताएका छन्।

‘मध्यपूर्वको नक्सा बदलिनेछ’

हमासका नेता सिनवारले अब फेरि आफूहरू र इजरायलबीच युद्ध भए मध्यपूर्वको नकसा नै बदलिने दाबी गरेका छन्।

प्यालेस्टाइनी लिबरेशन अर्गनाइजेशनले थप संगठित हुने मौका पाएको र अब इस्लामिक जिहाद सबै प्यालेस्टाइनीको हक भएको पनि उनले तर्क गरेका छन्।

उनले भनेका छन्, ‘गाजामा सक्रिय प्यालेस्टाइनी समूहहरूले इजरायलसँगको युद्धमा आफ्नो आधा शक्तिमात्र प्रयोग गरेका हुन्, अब इजरायलले प्यालेस्टाइनीबीच आपसी मतभेद गराएर फाइदा लिनसक्ने छैन।’

इजरायल र गाजामा रहेको प्यालेस्टाइनी समूह हमासबीच मे १० तारिखदेखि ११ दिनसम्म लडाइँ भएको थियो। सो लडाइँ हुँदा गाजामा मात्रै २५० भन्दा धेरै मानिसहरू मारिएका थिए।

इजरायलले गरेको आक्रमणमा मारिएकाहरूमध्ये अधिकांश बालबालिका र गैरसैनिक नागरिक थिए। हमासले प्रहार गरेको सयौं रकेट खस्दा इजरायलतर्फ पनि मानवीय हताहती भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here