अमेरिकी अर्थतन्त्रः तिब्र वृद्धितर्फ अग्रसर, तर पर्याप्त कामदार वा आपूर्तिको अभाव

48

वासिङ्टन । कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तिब्र गतिमा अघि बढेको छ ।
कोरोनाभाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्नेगरी सामानको आपूर्ति गर्न मुश्किल परेको छ ।
फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनले भननुभयो, “अहिले परिस्थिति बिस्फोटक छ – अर्थात् बत्ती बाल्नु जत्तिकै छ ।” यस कम्पनीले रेस्टुराँ र अन्य ग्राहकका लागि भान्साघरका सामानको मर्मतसम्भार सम्बन्धी सेवा दिन्छ ।
उहाँले भन्नुभयो, “श्रम बजार नियन्त्रण बाहिर छ । हामीले प्राविधिक भेट्टाउन सकेका छैनौं । हामीले यति चाँडै बजार खोल्यौं कि हामी सायद तयार नै थिएनौं ।”
आर्थिक क्षेत्रका विज्ञहरुले पनि अमेरिकी अर्थतन्त्रमा पछिल्लो परिस्थिति अनुमान गरेकै थिएनन् । “के यो अर्थतन्त्र सबल भएकै कारण उत्पन्न भएको हो वा संघीय सरकारले उपलब्ध गराएको राहतका कारण भएको हो रु” अर्थ विदहरुको प्रश्न यही छ ।
धेरै पक्षबाट विचार गर्दा खुशी हुनुपर्ने कारणहरु छन् – अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चबीचको अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासिक अवधिमा अर्थतन्त्र झण्डै दोब्बर अंकले वृद्धि हुँदैछ ।
रोजगारीका क्षेत्रमा गत मे महिना पाँच लाख ५९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । गत अप्रिल महिनामा यस्तो रोजगारी दुई लाख ७८ हजार मात्र थप भएको थियो ।
अर्कोतर्फ, घरमै महिनौ बस्न विवश लाखौं उपभोक्ता बजारमा खुला रुपमा निस्किएका छन् र उनीहरु केही न केही सामान किन्न आतुर देखिएका छन् । उनीहरुलाई संघीय सरकारले यसै वर्ष उपलब्ध गराएको एक हजार ४०० अमेरिकी डलरको राहतले पनि खर्च गर्न उक्साएको छ ।
त्यस्तै अमेरिकी कारखानाहरु पनि आपूर्ति र कामदारको कमीकै बाबजूद पनि उच्च क्षमतामा सञ्चालन हुन थालेका छन् । सप्लाई म्यानेजमेन्ट इन्स्टिच्यूटको सूचक पनि गत महिना ६१.२ विन्दुमा पुगेको थियो । यो सूचकले ५० विन्दुभन्दा माथि भएमा वृद्धि जनाउँछ । अमेरिकामा प्रमुख १८ मध्ये १६ वटा कम्पनीले पर्याप्त आपूर्ति गर्न नसकेको जनाएको पनि इन्स्टिच्यूटको भनाई छ । एपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here