जीवनमा सफल बन्न चाहानुहुन्छ भने यी आदर्श अपनाउनुहोस्

10

१. ‘तित्राको मुख बैरी’ भने जस्तै बुद्धिजीवीको अहम् र अहङ्कार पनि त्यस्तै हो । श्रमको सम्मान गर्दै जानुहोस् लखपति भइन्छ । त्यसपछि बुद्धि तिखार्दै जानुहोस् करोडपति अवश्य भइन्छ ।

२. सफलता कसैको बाटो पछ्याएर होइन, आफ्नो बाटो खोजेर हासिल गर्ने हो । आँखा खोलेर होइन, चिम्लिएर संसार हेर्नुपर्छ । त्यसपछि मात्र तेस्रो आँखा खुल्छ । हरेक कलकलाउँदो युवाको मनभित्र ईश्वरको बास हुन्छ ।

३. युवाहरूको उर्वर मनमस्तिष्कमा विषारोपण गर्नु महापाप हो । हरेक व्यापारको लक्ष्य लगानी र नाफा हुन्छ । नाफा घटीबढी होला तर काम गर्नेको पेट खाली हुँदैन । उद्योग र व्यापारको नियम यही हो । नकारात्मक सोच भोको पेटमा होइन, लोभी मनमा उम्रिन्छ ।

४. व्यापारले नाफा र नोक्सानको भर्पाइ हेर्छ उद्यमीले आफ्नो सिर्जनशील उत्पादनको भविष्य । श्रमको सम्मान गर्दै आफूले उत्पादन गरेको वस्तुलाई इज्जत दिन नसक्ने व्यक्ति कहिल्यै उद्यमी बन्न सक्दैन । उत्कृष्ट पुस्तक त्यो हो, जसले पाठक मात्र होइन लेखकलाई पनि परिवर्तन गर्न सक्छ ।

५. पुस्तक भनेको लेखक र पाठकबीचको रसायन शास्त्र हो । राज्य र सरकार व्यक्तिविशेष वा कसैलाई पनि आलोचना, गाली नगरी वा गुनासो नपोखी एक घण्टा बस्नुहोस् सक्नुहुन्छ ?

६. यात्रा जुनसुकै कोणबाट सुरू गरेपनि आखिरी जीवनको गाथा सोचको कलमले नै लेख्ने हो । आरामको खाटमा दर्शनको मद्यपान गर्न सकिन्छ तर आफ्नै पसिनाले कमाएको फलमा मात्र सन्तोषको सुद्ध स्वाद पाइन्छ ।

७. आफ्नो ‘किन’ को कारण सबैलाई थाहा छ । हरेकलाई जब अरूको ‘किन’ को कारण थाहा हुन्छ, त्यो बेला ऊ नागरिक बन्छ ।
छुचो एवम् निन्दशील मान्छेको नकारात्मक रेल पहिले निराशावादको स्टेसनमा पुग्छ । अनि बिस्तारै परपिडकीय जक्सन हुँदै आत्मापिडकीय गन्तव्यमा पुगेर टुङ्गिन्छ ।

८. थोपाले सागर, पैसाले रूपैयाँ, बीजले रूख र सोचले समूह, समुदाय एवम् समृद्ध समाज बन्छ । सम्पत्ति, सम्मान र सोमरसको उग्र भोक वास्तवमा लालचको श्राप नै हो । रूप एक, दर्शन अनेक । दर्शनको चित्र ज्ञानले कोर्ने हो । दर्शन अमूर्त कला हो ।

९. समृद्ध नेपालको परिकल्पना अवधारणा ‘माइक्रोस्कोपिक’ सङ्कीर्ण मनस्थितिबाट होइन, टेलिस्कोपिक सोचको वाइड एङ्गलबाट हेर्नुपर्छ । उपदेश दिने धेरै, अनुभव साट्ने कम, समस्या कोट्याउने धेरै सुल्झाउने कम प्रश्न गर्ने, उत्तर दिने कम, सपना हेर्ने धेरै साकार पार्ने कम ।

१०. जुन बेलासम्म विवेकको नियमले आफैलाई नियमन गर्न सकिंदैन कुनै पनि नियम, कानुन, विधान र संविधानले देश विकास गर्न सकिंदैन । पञ्चायतकालमा हामी रैतीबाट प्रजा भयौं । प्रजातन्त्र आएपछि प्रजाबाट जनता भयौं तर अहिलेसम्म जनताबाट नागरिक बन्न सकेका छैनौं ।
नागरिक त्यो हो, जसले अरूको आँखाबाट हेर्न सक्छ । अरूको कानबाट सुन्न सक्छ र अरूको मनबाट मनन गर्न सक्छ ।

११. मनले मन छुन सक्यो र आत्माले अर्को आत्मा स्पर्श गर्न सक्यो भने पुण्यात्माको साक्षात्कार हुन्छ । मान्छेको जीवन न आत्मावृत्तान्त हो, न उपन्यास । जीवन त वास्तवमा विविध कथा नै कथाहरुको एउटा सङग्रह हो ।

१२. एउटा सुखद संयुक्त परिवार पञ्चैबाजा सहितको नाचगान र बजान जस्तै हो । उपदेशले दिवास्वप्नको भोज पाक्ला, खाना पाक्दैन । खाना पकाउन त आगो बल्नु पर्यो, पानी तताउनु पर्यो, चामल उमाल्नु पर्यो । अनि बल्ल पाक्छ परीकार ।

१३. विकासको पनि लक्ष्यणरेखा कोर्नुपर्छ । अन्यथा विकास विकृतिमा परिणत हुनसक्छ । हामी सफल बन्न जीवनभर प्रयासरत हुन्छौं । तर सफलताको पनि मूल्य चुकाउनु पर्ने हुन्छ ।

१४. भोगाइबिनाको ज्ञान आधा पाकेको फल जस्तै हो । धरहराको टुप्पोमा बसेर उपदेश दिने होइन, भुक्तभोगिको जुत्ता लगाएर विचार पोख्नुपर्छ । अरूले के गर्नुपर्छ होइन, आफूले के गर्न सकिन्छ, त्यसमा भर पर्छ सारा ब्रम्हज्ञान ।

१५. जीवन दर्शन होइन यथार्थ हो । सोच, खोज, लेख, बोल र भन तर गर ।
व्यापारको सम्भावना खोज्ने हो भने पहिले समस्या खोज अनि त्यसको समाधान पहिल्याउ । समस्या र समाधानको बीचमा छ, व्यापार ।

१६. ब्वाँसोलाई जब स्वाँठले बाघ बनाइदिन्छ, त्यही बाघको भूतले स्वाँठलाई खाइदिन्छ ।
प्रगतिपथमा हामी जीवनभर तँछाडमँचाड गरी लाग्छौं तर प्रगतिको प्रतिफल मिठो नै होला भन्न सकिन्न । नहुनेले हुनेको दुःख र हुनेले नहुनेको सुखक अनुभव गर्न सकेको भए जीवन यति तनावपूर्ण हुँदैनथ्यो ।

१७. आकाशबाट तारा झारेर कविता मात्र रच्न सकिन्छ तर कर्मको गाथा रच्न निधारबाट पसिना चुहाउनैपर्छ ।
भजिने भाषा र बोलीमा वाक्य बिर्सिइन्छ तर गरिने कर्मको प्रतिफल सधैँ सम्झीरहिन्छ ।

कर्ण शाक्यको ‘कोष जीवन पछिको जीवन’बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here