काठमाडौं । महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएलगत्तै जनताको जनस्वास्थ्यमा केही सुधार देखिए पनि जनजीविकाका समस्या केही बढी कठिन हुँदै गएका छन् । यातायात सुचारु हुन नसक्दा त्यसले दैनिक जनजीवनमा नकारात्मक प्रभाव पार्न थालेको छ । सुरुका केही दिनमा यसको प्रभाव नदेखिए पनि पछिल्ला दिनमा त्यसको असर व्यवहारमै अभिव्यक्त हुन थालेको छ । बजार अभाव हुन थालेको छ । भनेका सामान पाइन छोडेका छन् । कतिपय त दैनिक आवश्यकताका वस्तु पनि पाइन छाडे पनि जनसाधारण कठिनाइमा पर्न थालेका छन् । गास, बास, कपास र शिक्षा स्वास्थ्य जनताका अति आवश्यक कुरा हुन् । हाल ती कुराको परिपूर्तिमा त्यति ध्यान पुग्न सकेको देखिँदैन । यसको अर्थ महामारी नियन्त्रणका लागि जारी गरिएका निषेधाज्ञा निरर्थक र नकारात्मक छ भन्ने होइन । बरु यसले जनस्वास्थ्य सुरक्षामा ठूलो बल दिएको छ । तर, दैनिक आवश्यकताका कुराहरू पूर्ति हुन र गरिन केही समस्या परेकाले जनताले आवश्यक परेका कुरा पाइएन भनेर गुनासो गर्ने ठाउँ रहन गएको हो ।
जनस्वास्थ्यकै लागि यी सारा कुरा गरिए पनि निरन्तर माग र पूर्ति सन्तुलनमा हुन नसक्दा केही समस्या भने अवश्य देखिएका छन् । बजारमा सिटामोलसमेत पाइन छोड्नु धेरै दुःखको कुरो हो । कतिपय ठाउँमा त खाद्यान्न पनि धेरै दिनको पर्खाइपछि मात्र पालो पाउने अवस्था सिर्जना भएको छ । यसका लागि सम्बन्धित निकाय सर्तक र क्रियाशील हुनुका साथै उत्पन्न परिस्थतिअनुसार सिर्जनशील र व्यावहारिक हुनु पनि जरुरी । आवश्यक पर्ने सामग्रीहरूको लेखाजोखा तीनको परिपूर्ति तथा आवश्यक परेका ठाउँमा आपतकालीन व्यवस्थाको समेत प्रबन्ध मिलाइनुपर्छ । यसका लागि सरकार र सरकारसँग सम्बन्धित निकाय नै बढी प्रयत्नरत रहनुपर्छ । पुगीसरी आउने मानिसले आफ्ना आवश्यकताका सामग्री समयमै खरिद गरेर स्टोेर गरी सञ्चय पनि गर्न सक्छन् । तर, सामान्य जनता र मजदुर भने आफ्ना मासिक तथा दैनिक कमाइको भरमा आवश्यकताका सामान खरिद गर्ने र उपभोग गर्ने बाध्यता भएकाले उनीहरूका लागि दैनिक बजारमा कम मात्रामा तर सामान उपलब्ध भएकै हुनुपर्छ । समाजमा रहेको सामाजिक तह र तप्कलाई ख्याल गर्दै सबैका लागि सेवाजस्ता कार्यक्रमहरू ल्याइनुपर्ने जरुरी देखिन्छ । यसलाई मध्यनजर गरी सरकारले नै आफ्ना नियमक निकायलाई अनुगमन, सुरीवेक्षण र निरीक्षणमा सर्तक बनाउँदै परिचालन गर्नुपर्छ । यसले जनताका आवश्यकता समयमै पूरा हुन गई जनगुनासो कम गराउन मद्दत पु-याउँछ ।
जनताका आधारभूत कुरामध्ये जनस्वास्थ्यमा सरकारले ध्यान पनि पु¥याएको छ र चासो पनि राखेको छ । साथसाथै सरकारले ध्यान पु¥याउनुपर्ने जनजीविकाका अन्य सवालमा उत्तिकै चासो राख्न जरुरी छ । जनताका आधारभूत आवश्यता एकैपटकमा धेरै हुन सक्छ । तर, सम्बन्धित निकायको चासो कुनै केन्द्रीकृत कार्यक्रममा मात्रै समकेन्द्रित हुन जाँदा त्यसमा चासो र पहल दुवै नपुगेको हुन सक्छ । यो अपुगलाई मनन गर्दै जनताका जनजीविकाका सवालमा समयमै सचेत भइयो भने यसले पु¥याउने दीर्घकालीन असरबाट बच्न सकिन्छ । त्यसैले समग्र जनजीविकाका सवालमा समयमै सचेत होऊ । राजधानीबाट ।
















