आज युरोकपमा तीन खेल हुने

218

काठमाडौं । शुक्रबार इटालीको राजधानी रोममा भएको इटाली र टर्किको म्याचसँगै युरोकप २०२० सुरु भएको छ। इटालीले टर्किलाई ३–० ले पराजित गर्यो। त्यस्तै आज ‘समूह ए’ को एक खेल र ‘समूह बी’ का दुई खेल हुँदैछन्। कुन टिम कस्तो अवस्थामा छ र त्यसले आजको खेलमा कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे चर्चा गरौँ।

वेल्स र स्वीजरल्याण्ड
‘समूह ए’ को यो खेल नेपाली समय अनुसार बेलुका ६ः४५ मा अजरबैजानको बाकुमा आयोजना हुँदैछ। बेलायतको स्र्पोटस मोल वेबसाइटले यो खेल स्वीजरल्याण्डले जित्ने प्रक्षेपण गरेको छ। अहिले फिफा वरियतामा १३ औँ स्थानमा रहेको स्वीजरलयाण्डले पछिल्ला ६ खेलमध्ये ६ वटामै जीत हासिल गर्न सफल भयो भने वेल्सले ६ मध्ये ३ खेल जित्दा २ खेलमा हार बेहोर्नुका साथै बाँकी १ खेल बराबरीमा टुङ्ग्यायो। यसरी हेर्दा वेल्सको तुलनामा स्वीजरल्याण्ड राम्रो फर्ममा रहेकाले जित्ने अपेक्षा गर्न सकिन्छ। यद्यपि, युरोकपको छनौट चरणमा पाँच खेलको अविजित यात्रा तय गरेको वेल्सले स्वीजरल्याण्डलाई कडा टक्कर दिन भने सक्छ।

डेनमार्क र फिनल्याण्ड
‘समूह बी’ को यो खेल नेपाली समय अनुसार आज राति ९ः४५ मा डेनमार्कको राजधानी कोपनहेगनमा हुँदैछ। युरोकप सुरु हुनुभन्दा अघिका ६ म्याचमध्ये एक पनि फिनलण्डले जितेको छैन। ४ खेलमा हार बेहोरेको फिनल्याण्डले २ खेलमा बराबरीमा चित्त बुझाउनु पर्याे। डेनमार्क भने पछिल्लो समय फिनल्याण्डको तुलनामा राम्रै फर्ममा रहेको छ। पछिल्ला ६ खेलमध्ये ४ खेलमा जीत हासिल गरेको डेनमार्कले एक खेलमा हार ब्यहोर्दा बाँकी एक खेल बराबरीमा टुङ्ग्यायो। १९९२ को युरोपियन च्याम्पियन रहेको डेनमार्क २००४ मा क्वार्टर फाइनलसम्म पुगेको थियो भने २०१२ मा समूह चरणबाटै बाहिरिएको थियो। यता फिनल्याण्डका लागि युरोकपमा यो पहिलो उपस्थिति हो। तसर्थ आजको खेल डेनमार्कले जित्ने सम्भावना बढी रहेको स्र्पोट्स मोलले जनाएको छ।

बेल्जियम र रसिया
आजका खेलहरूमध्ये सर्वाधिक चासोको ‘समूह बी’ को यो खेल नेपाली समय अनुसार आज राति १२ः४५ मा रसियास्थित सेन्ट पिटर्सबर्गमा हुँदैछ। युरोकप छनौटमा रसिया र बेल्जियम एकै समूहमा थिए। छनौट चरणमा रसियासँग भएको दुवै खेलमा जीत हासिल गरेको बेल्जियम उच्च मनोबलमा रहेको छ। यद्यपि, घरेलु मैदानले रसियालाई पनि उर्जा दिने भने निश्चित छ। छनौट चरणमा बेल्जियमले १० मध्ये १० खेलमै जीत हासिल गरेर पहिलो स्थान सुरक्षित गर्यो भने रसियाले १० मध्ये ८ खेल जित्दा बेल्जियमसँग भएका २ खेलमा हार ब्यहोर्दै दोस्रो स्थान सुरक्षित गर्न सफल भएको थियो। छनौट चरणमा भोगेको हारबाट केहि पाठ सिकेको भए रसियाले आज राम्रो खेल्न सक्छ। अहिले फिफा बरियतामा पहिलो स्थानमा रहेको बेल्जियम र ३८ औँ स्थानमा रहेको रसियाबीचको म्याचमा बेल्जियम भारी देखिएको त छ नै।

बेल्जियमका स्टार खेलाडी इडेन हजार्ड नखेल्ने बताइए पनि उनको स्थानमा खेल्न लागेका लुकाकुले ‘सिरी ए’ मा इन्टर मिलानका लागि ३६ म्याचमा २४ गोल गरेकाले बेल्जियमको स्थिति बलियो नै रहेको विश्लेषण क्लाउड विज्डमको रहेको छ।

‘द एनालिस्ट’ ले गरेको तथ्यांक विश्लेषणले बेल्जियम युरोकपको कडा दाबेदार भएको देखाएको छ। फ्रान्सको विजयी हुने सम्भावना २०.५ प्रतिशत हुँदा बेल्जियमको १५.७ प्रतिशत रहेको छ। युरोकपमा फ्रान्स विजयी हुने प्रक्षेपण प्रायले गर्दै गर्दा अवी क्रेडिटरले भने फाइनलमा साविकको विजेता पोर्चुगल र बेल्जियम भिड्ने र बेल्जियम विजयी हुने स्पोर्ट्स इलस्ट्रेटेडलाई बताएका छन्।

यसरी हेर्दा रसियाका लागि यो खेलमा जीत हासिल गर्न असम्भव नभए पनि निकै कठिन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here