काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिए

214

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि बहुमत सांसदको सशरीर हस्ताक्षर बुझाएपनि नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार २४ घन्टाको समयसीमा तोकेर बहुमत दाबी गर्न भनेकोमा नेपालीले ३१ सांसद सशरीर उपस्थित भएर हस्ताक्षर बुझाएका थिए । तर, राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले संसदीय दलको नेताका रुपमा प्रदेश प्रमुखलाई पत्र लेखी पार्टीको विपक्षी गठबन्धनलाई साथ नभएको पत्र लेखेपछि यसलाई आधार मानेर नेपालीलाई मुख्यमन्त्री बन्नबाट रोकिएको हो ।

३ सांसद भएको राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता दाबी गर्दै विपक्षी गठबन्धनमा नरहेको पत्र प्रदेश प्रमुख समक्ष पेश गरेका छन् । योसँगै गण्डकीमा कसैको पनि बहुमत सिद्ध नहुने गरी अवस्था सृजना गर्न लागिएको छ । केन्द्र सरकारमा विगतमा जसपाको उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनलाई साथ दिएपनि महन्थ ठाकुर पक्षधरले साथ नरहेको पत्र पठाएको थियो । योसँगै विपक्षी गठबन्धनको बहुमतको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको कदमलाई सदर गरेकी थिइन् ।

स्मरणीय रहोस् जनमोर्चाले कृष्ण थापामाथि कारबाही गरी संसदीय दलको नेताबाट हटाइसकेको छ । राजमोबाट पियारी थापा संसदीय दलको नेता बनाइएकी छिन् । तर, थापाले अझै आफू संसदीय दलको नेता कायम रहेको दाबी पेश गरेका छन् ।

जनमोर्चाको ३ सांसदमध्ये २ को समर्थन विपक्षी गठबन्धनलाई रहेको छ । तर, कृष्ण थापाले आफू संसदीय दलको नेता रहेको दाबी गर्दै जनमोर्चाको विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपालीलाई समर्थन नरहेको पत्र लेखेपछि प्रदेश प्रमुख सीता पौडेलले बहुमतको दाबी नपुगेको भन्दै पृथ्वी सुब्बा गुरुङ्गलाई नै मुख्यमन्त्री बनाएर अर्को प्रक्रियामा जान लागेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here