एकमहिने रक्तदान कार्यक्रमबाट ३५० पिन्ट रगत सङ्कलन

32
Blood cells, bacteria, and virus traveling through a vein. bubble air particle in the water, science biology blood cell and virus microscope view an abstract background concept

कैलाली । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ ।

धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरु गरेको रक्तदान कार्यक्रमको ३०औँ दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको सुरक्षित मातृत्व सञ्जाल महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए ।

कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुसालले बताए ।

कोरोनाका कारणले मात्र अप्ठ्यारो परेका मानिसलाई मात्र नभई अन्य नियमित रुपमा चाहिने व्यक्ति, दुर्घटनामा परेका, डेलिभरीलगायत अन्य बिरामीका लागि पनि रगत सजिलै उपलब्ध गराउने अभियान रहेको उनको भनाइ छ ।

रक्तदान कार्यक्रमलाई अझै प्रभावकारी बनाउन केही दिन समुदाय तथा वडास्तरमा समेत रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ । एकमहिने रक्तदान अभियानमा हालसम्म यहाँका विभिन्न सङ्घसंस्था तथा क्लबमा आबद्ध व्यक्ति, विद्यार्थी, खेलाडी, दलका भ्रातृ सङ्गठन, समाजसेवी, सर्वसाधारण लगायतले रक्तदान गरेको महासङ्घले जनाएको छ ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here