काठमाडौं । युरोपको महादेशीय फुटबल प्रतियोगिता युरो कपअन्तर्गत नेपाली समयअनुसार शनिबार साँझ सम्पन्न खेलमा वेल्स र स्विजरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। अजरबैजानको बाकुमा सम्पन्न खेलको पहिलो हाफमा वेल्स र स्विजरल्यान्डले नै गोल गर्न नसके पनि दोस्रो हाफमा दुवै टिमले गोल गरेका थिए।
खेलको ४९ औं मिनेटमा स्विट्जरल्यान्डका ब्रिल इम्बोलोले गोल गर्दै अग्रता बनाएका थिए। गोलपछि वेल्स थप दबाबमा आए पनि बल पोसेसनमा सुधार गर्दै उसले आक्रमण प्रयास जारी राखेको थियो। पहिलो हाफमा बल नियन्त्रणमा कमजोर देखिएको वेल्सले दोस्रो हाफमा त्यसलाई सुधार गर्याे। त्यस्तै, खेलको ७४ औं मिनेटमा कर्नर बलको सदुपयोग गर्दै उसले गोल गरेको थियो।
जे मोरेलबाट पाएको बललाई किइफर मोरले हेडमार्फत गोल गरे। यससँगै खेल पुनः बराबरीमा आएकोे थियो। खेलको ८५ औं मिनेटमा स्विट्जरल्यान्डका मारियो ग्रावानोविचको गोल भने रेफ्रीले अफसाइड करार गरिदिएका थिए। त्यसपछि दुवै टिमको गोल गर्ने प्रयास सफल हुन सकेन। दोस्रो हाफमा बल पोसेनन घटाए पनि खेलको ६५ प्रतिशत समय बलमा पकड बनाएको स्विट्जरल्यान्डले वेल्सलाई दबाबमा राख्न सफल भयो। खेल अवधिभर स्विट्जरल्यान्डले १८ प्रहार गर्याे भने वेल्सले स्विट्जरल्यान्डको पोस्टतर्फ नौ प्रहार गर्याे। दुवै टिमका एकबाहेक सबै विफल भएका थिए।
बराबरीपछि दुवै टिमले समान १–१ अंक जोडेका छन्। समूह ए अन्तर्गत शुक्रबार रातिको खेलमा इटालीले टर्कीलाई हराएको थियो। त्यसैले चार टिम सम्मिलित समूहको शीर्षस्थानमा इटाली छ भने टर्की पुछारमा छ। यस्तै, अहिले अर्को खेलमा डेनमार्कले फिनल्यान्डको सामना गर्दैछ। यी दुई टिमले डेनमार्कको कोपनहेगनस्थित पार्केन रंगशालामा खेलिरहेका छन्।
राति पौने १ बजेबाट सुरु हुने आजको तेस्रो तथा अन्तिम खेलमा बेल्जियमले रसियाको सामना गर्दै छ। यो खेलमा रसियाले सेन्ट पिटरबर्गको घरेलु मैदानमा बेल्जियमलाई आतिथ्यता प्रदान गर्नेछ।


















