वरिष्ठ नेता खनालद्वारा पार्टी एकताका लागि आह्वान (वक्तव्य जारी)

72

काठमाडाैं  । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन्।

बुधबार उपचारका लागि भारतको दिल्ली जानुअघि प्रेस वक्तव्य जारी गर्दै नेता खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गरेका हुन्।

उनले जनताको चाहना र अपेक्षा विपरीत नेतृतवमा देखिएको अनेकौँ गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको जनाएका छन्।

नेता खनालले देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको उल्लेख गरेका छन्।

‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ। विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौँ’, खनालले भनेका छन्, ‘एकता सफलताको बाटो हो भने फुट बिनासको।’

राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका र त्यही अन्तर संघर्षको पराकम्पन एमालेमा पनि परेको खनालको बुझाई छ।

उनले भनेका छन्, ‘राष्ट्रिय एकतारअखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो। त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ। हामी सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु।’

खनालले एमाले पार्टी सयौँ शहीदहरुको बलिदान, हजारौँ योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको जनाएका छन्।

‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ। त्यसैले टुटरफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौँ भन्ने सबैमा आह्वान गर्न चहान्छुु, खनालले भनेका छन्।

उनले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा देश बाहिर गएको जनाएका छन्।

‘सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु’, खनालले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here