बाग्लुङमा बाढी-पहिरोले ४१ परिवार विस्थापित

103

बाग्लुङ । निरन्तरको वर्षाका कारण बाग्लुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्षति र केहीको आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

बाढी पहिरोका कारण सात घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी बताए। लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन्। ताराखोला गाउँपालिकामा घरमाथिबाट पहिरो खस्दा वडा नम्बर ५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विकको, मिठे विकको, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बाग्लुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ। पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन्।

यस्तै, बाग्लुङ नगरपालिका–४ का नन्दलाल पौडेलको घर भत्केको, प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ। माया जिसीको इँटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिए।

बाग्लुङ नगरपालिका–१३ फर्सेडाँडाकी पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाँडाका विशाल विकको घर जोखिममा रहेकाले विस्थापित भएका छन्। गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घर पछाडिबाट पहिरो खस्दा ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित हुनुभएको र सोही स्थानको डाँडाखेतमा देवबहादुर खत्रीको घर अघीबाट पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाइ छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here