काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा एक महिना यताकै न्युन कारोबार भएको छ। बिहीबार ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको हो। यो कारोबार रकम १ दिन बाहेक पछिल्लो एक महिना यताकै सबैभन्दा कम हो। पछिल्लो एक महिनाको अवधिमा दुई हप्ता अघि एक दिन मात्रै आठ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो। बाँकी सबै कारोबार दिनमा ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको तथ्याङ्क छ।
यस्तै लगातार दोस्रो दिन बजार घटेको छ। बुधबार ५२ अंकले घटेको नेप्से बिहीबार थप १.३० अंकले घटेर नेप्से सूचक २९६८ बिन्दुमा रोकिएको छ। बिहीबार धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिम रहेको विवरण सार्वजनिक गरेपछि ६ वटा उपसमूह हरियो हुँदा ७ वटा उपसमूहमा रातो पोतिएको छ। साथै विकास बैंक समूह ९४ अंकले बढेको छ भने लघुवित्त समूह ६४ अंकले घटेको छ। त्यस्तै बिहीबार कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटबढ भएन्।
खानीखोला हाइड्रोपावरको सेयर सर्वाधिक ७ प्रतिशतले बढेको छ। यस्तै सिइडीबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ भने नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ७७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको ३० करोड, नेपाल इन्स्योरेन्सको २७ करोड र निफ्राको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। २२३ कम्पनीको २ करोड ३ लाख ६६ हजार कित्ता सेयर १० अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्।
















