खस संस्कृतिमा मष्टा देवता र जेष्ठी पूर्णिमाको महत्व

516

–चन्द्रप्रकाश बानियाँ

विश्व मष्ट धर्म महासंघद्वारा यही २०७८ साल आषाढ महिनाको १० गते पर्ने पूर्णिमालाई खस दिवसको रुपमा मनाउने र यो तिथिलाई मष्टा पूजनको सांस्कृतिक दिनको रुपमा सार्वजनिक विदाको घोषणा गर्न सरकारसँग माग गर्ने निर्णया गरिएछ ।

सरकारले विभिन्न जात जातिका विशेष सांस्कृति तिथिपर्वहरुमा यति धेरै सार्वजनिक विदा दिन थालेको छ कि नेपाललाई पर्वैपर्व र विदैविदाको मुुलुक भन्दा पनि फरक नपर्ने भएको छ । खसहरुको पछिल्लो मागले त्यसमा अर्को एउटा दिन थप्नेछ । तैपनि महासंघको निर्णयको उपेक्षा गर्न भने मिल्दैन । नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातिय र बहुसांस्कृतिक मुलुक हो भनेर संविधानतः स्वीकारिएको छ । सिद्धान्ततः स्वीकारिएको विषयलाई कार्यान्वयन गर्नुपर्छ । सबै जाति, भाषा, धर्म र संस्कृतिको सम्मान हुनुपर्छ । मान्यता दिइनुपर्छ । त्यही अर्थमा विशेष पर्व उत्सवहरुमा  सार्वजनिक विदा दिने गरिएको हो । त्यसरी विदा दिन व्यवहारिक कठिनाइ पर्छ भने त्यसको व्यवस्थापनको दोश्रो तरिका अवलम्वन गर्न सकिन्छ तर सबैले पहिचान पाउनुपर्छ । मान्यता पाउनुपर्छ, समान अधिकार पाउनुपर्छ । सम न्याय पाउनुपर्छ । मष्टपूजन दिवसलाई पनि राष्ट्रिय पर्वमा सामेल गरिनुपर्छ । किनकि नेपालमा रहेका १२३ जातजातिमध्येको सबभन्दा ठूलो जाति समूह खस हो । यो जातिसंग सम्बन्धित कुनै एउटा मौलिक पर्व तिथिलाई आजसम्म राज्यका तर्फबाट औपचारिक रुपमा मान्यता दिइएको छैन ।

त्यही सन्दर्भमा मष्ट पूजनको तिथिको रुपमा जेष्ठी पूर्णिमाको आधिकारिकताको सम्बन्धमा अलि कता ऐतिहासिक चर्चा गर्नु प्रसांगिक हुनेछ ।

खस जातिलाई बाहेक गरेर गरिएको जातिगत अध्ययन अपूर्ण रहन्छ । नेपालको मध्यकालीन इतिहासबाट खसजातिलाई अलग गर्ने हो भने इतिहास अध्ययन नै अपाङ्ग बन्छ । त्रिशुलीपश्चिम, शिवालिक पर्वत श्रृङ्खलदेखि उत्तर, अफगानिस्तानदेखि पूर्व र मानसरोवरको दक्षिणको चारकिल्लाभित्र विशाल खस साम्राज्य स्थापित भएको थियो । एघारौं शताब्दीको प्रारम्भमै नागराजद्वारा स्थापित खस साम्राज्य पन्ध्रौ शताब्दीको अन्तसम्म अस्त्विमा रहेको थियो । नागराजको राज्य खस साम्राज्यको रुपमा परिचित भए पनि खससंग सम्बन्धित अनेकौं भूभाग, शहरवस्ती र नदी पहाडहरु त्यस साम्राज्यमा सामेल थिएनन् । इरानको खसिस्तान र खसनदी, अफगानिस्तानको बडाखसान र खसमरुभूमि खस जातिसँग सम्बन्धित थिए तापनि पछिल्लो खस साम्राज्यअन्तर्गत ती सबै क्षेत्रहरु सदाकाल समेटिएका थिए भन्न सकिन्न । तर पनि नागराजको खस साम्राज्यका जनता र राजा दुबै खस जातिका थिए । त्यसैले उक्त राज्यको नाम खस साम्राज्य स्वभाविक र उपयुक्त थियो ।

जातिगत दृष्टिले खस एउटा अवैदिक जाति थियो । नागराज पश्चिम तिब्बतिरबाट सिंजा झर्नुपूर्व नै नेपालको वर्तमान कर्णाली क्षेत्र खसजातिहरुको बसोबास क्षेत्र बनिसकेको थियो । अनेर्कौं भुरेटाकुरे खस राज्यहरु स्थापित भैसकेका थिए । भिन्न भिन्न थर गोत्रका टुक्रे सामन्त राज्यहरु बनेका थिए । बडुवाल, थापा, रावल, खड्का, वर्मा, पाल आदि राजाहरुको शासनसत्ता स्थापित थिए । ती सबै साना ठूला राज्यहरु एकै ठाउँमा डोलाएर नागराजले खस साम्राज्यको शिलान्यास गरेका थिए । खस एउटा अलगै भाषा, धर्म, संस्कृति र सम्यता भएको जाति थियो । उसको आफ्नै मौलिक परम्परा र र।ीतिरिवाजहरु थिए । खसहरुको आफ्नै धर्म थियो, आफ्नै भाषा थियो, आफ्नै संस्कृति र सभ्यता थियो ।

आजको मितिसम्म आइपुग्दा खस जाति पूर्णरुपमा हिन्दूकृत भैसकेको छ तर त्यसपूर्व अर्थात आफ्नो मौलिक धर्म संस्कृति छोड्नुपूर्व खस जातिले बुद्ध धर्म अवलम्वन गरेको थियो भन्ने कुराको इतिहास प्रमाण फेला पर्छ । साम्राज्यको अन्तसंगै बुद्धधर्मबाट पनि अलग भएको थियो । खस साम्राज्यको अन्तकालतिर आइपुग्दा वर्मावंशी खस परिवार सिंजाको सत्तामा स्थापित हुन गएको थियो । मलय वर्माले आफ्नो राज्य भाइछोराहरुका बिचमा अंशवण्डा गरिदिएपछि साम्राज्यको विखण्डन निम्तन्छ । उनले राज्यको एउटा अंश आफ्ना छोरीजुवाइलाई पनि दिन्छन् । अर्थात जुृम्लाको राज्य जुवाई बलिराजको अंशभाग लाग्छ । तिनै बलिराज नामका गगणिराजले आमरुपमा खस समाजमा जनै वितरण गरेको देखिन्छ । अर्थात खसहरुलाई जनै भिराएर हिन्दूकरणको राजकीय अभियान चलाइन्छ र खस साम्राज्यसँगसँगै खस समाजबाट बुद्ध धर्मको पनि विस्थापन हुन्छ ।

हिन्दू धर्म अपनाउनुपूर्व बुद्ध धर्म खस साम्राज्यको राजकीय धर्म थियो । स्वयम राजउत्तराधिकारीहरु, युवराजहरु र राजकुमारहरु बौद्ध भिक्षु बनेका उदाहरणहरु इतिहासमा भेटिन्छन् । खस साम्राज्यभित्र आज पर्यन्त अनेकौं विहारहरुका अवशेष पाइन्छन् । चैत्य र मठहरु फेलापर्छन् । अब बुद्ध धर्मको खस जातिसँगको साइनो तोडिएको छ । पाँचचसय वर्ष यता खस समाज हिन्दुधर्मसँग आवद्ध छ ।  हिन्दू धर्म अवलम्बनका कारणले खस जातिको धर्म, संस्कृतिको गौरवमय इतिहास नामेट भैसकेको छ । खासगरेर, नेपाल एकीकरणपछि मञ्चन भएको राणाशाहीको उदय खस जातिको अस्तित्व नामेट गर्ने कारण बन्यो । जङ्गबहादुर राणाले नितान्त निजी जाति उत्थानको मुर्खतापूर्ण चेष्टा स्वरुप खसहरुले आफूलाई क्षत्री भनाउनु, लेखाउनुपर्ने राजकीय आदेश जारी गरियोे । सरकारी उर्दीको अवज्ञा भए गरिएमा दण्डभागी हुनुपर्ने जङ्गी आदेश गरेपछि  खसहरुको जाति मासियो र जात अर्थात क्षत्री नामको वर्ण मात्रै बाँकी रहन गयो ।

खसहरुको धर्म मासियो, संस्कृति मासियो, जाति पनि मासियो र परिचय नै हरायो । मौलिक कुलधर्म मष्टोसमेत विलुप्त हुने स्थितिमा पुग्यो । तर खस जातिले मष्टोलाई कुलदेवताका रुपमा पुज्न भने छोडेन । यहीनेर अलिकता असहजजस्तो लाग्ने विषय के देखिन्छ भने अवश्य हिन्दू धर्म अवलम्बन गरेपछि खस समाजले फेरि मष्ट मान्न थालेको होइन । नहुनुपर्छ । आश्चर्यको विषय के रहेको छ भने बुद्ध धर्म मानेको समयमा पनि बलिपूजा समेत दिइने परम्परा रहेको मष्टपूजालाई कसरी निरन्तरता दिइयो होला ? कतै त्यही बलिपूजाको परम्पराले बुद्धधर्मबाट विरत गराएको पो होला कि ? किनकि बुद्ध धर्मको परित्यागपछि पुन मष्टपूजन थालिएको हो भन्न मिल्दैन । त्यति लामो कालखण्डसम्म हराएको परम्परा पुन स्थापित हुन सम्भव हुन्छ भन्न मिल्दैन । मष्ट पूजन परम्परा केही कालसम्म स्थगित भएको थियो भन्न सकिन्न । त्यसले सदाकाल निरन्तरता पाएको थियो । पाएको हुनुपर्छ । त्यसको अर्थ मष्ट पूजन परम्परा बौद्ध धर्म कालमा पनि खस समाजमा जीवित थियो भन्नुपर्ने हुन्छ ।

मष्ट पूजा सामाजिक परम्परा मात्रै हो कि, खस संस्कृति हो कि अथवा मष्ट धर्म नै हो त भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । कसैकसैले मष्टपूजालाई खस संस्कृति मात्र हो भनेको सुनिन्छ । अझ कसैले त मष्ट पूजन परम्परा कर्णाली क्षेत्रमै उत्पत्ति भएर स्थापित भएको हो भनेर मानेको देखिन्छ । मष्टो परम्पराको लहरो समातेर इतिहास खोतल्दा त्यस्तो भनाइमा सत्यता छैन भन्ने प्रमाणित हुन्छ । यतिखेर खस जातिको मुख्य बसोबासको थलो कर्णाली भूमि रहेको र त्यसभन्दा पूर्वोत्तरको इतिहासको कुनै कालखण्डमा खस जातिले विचरण गरेको भनेर मानिने क्षेत्रमा मष्ट परम्परा हराइसकेको हुनाले त्यस्तो मान्यता बनाइएको हो । जसरी खस जातिसँग नाम जोडिएका कासमिर, खसिस्तान, बडाखसान, खसनदी, खस मरुभूमि आदिसँग वर्तमानमा खसको साइनो देखिदैन त्यसैगरी खस जातिले विचरण गरेको विशाल क्षेत्र मध्यएशियाबाट मष्ट पनि हराएको छ । त्यो भूमिले मष्टलाई बिर्सिसकेको छ । कुनै समय सिंगो मध्यएशियायी भूमिमा मष्ट धर्म स्थापित थियो । कालक्रममा त्यो हराउँदै मासिदै गयो । खस जाति जहाँ जहाँ पुग्यो नयाँ स्थान र स्थानीय समाजसँग अन्तरघुलित हुदै गयो । नयाँ परम्पराहरु उदारतापूर्वक अवलम्वन ग¥यो । नयाँ संस्कार, नयाँ संस्कृति र नयाँ धर्म आत्मसात गर्दे गयो । नयाँ संगत र नयाँ परिवेशमा आफूलाई ढाल्दै गयो । समाहित गर्दै लग्यो । तैपनि आफ्नो धर्मसंस्कृतिलाई पुरै बिर्सन सकेन र तिनलाई सामाजिक परम्पराको रुपमा जीवित राख्यो भन्ने कुराको उदाहरण मष्टपूजन परम्परा हो ।

केही समाजशास्त्री अनुसन्धाताहरुले भनेजस्तो मष्टा संस्कृति नेपालको कर्णाली क्षेत्रमा उत्पत्ति भएको हो भन्ने मान्यतामा सत्यता छैन । त्यसको प्रमाणको रुपमा मध्यएशियाको प्राचीन इतिहासबाट खुल्दछ । सातौं शताब्दीमा इतिहासप्रशिद्ध चिनियाँ यात्री हुएनसाङले भारतको भ्रमण गरेका थिए । बुद्ध दर्शनको अध्ययन अनुसन्धानको सन्दर्भमा १५ वर्ष भारतमा बिताएका हुएनसाङ चीन फर्कँदा अफगानिस्तान हुँदै मध्यएशियाको बाटो प्रयोग गरेका थिए । उनको यात्रा कथा “सी यू की” मा वर्तमान क्रिजिकिस्तानतिरको एउटा प्रसंग परेको छ । मष्ट सम्प्रदायीहरुले धर्म प्रचारमा बुद्धिष्टहरुलाई अवरोध पु¥याएका हुनाले उक्त राज्यका राजासंग हुएनसाङ् आफैले वार्ता गरेर बुद्धिष्टहरुलाई धर्म प्रचारको सहुलियत दिलाएको कुरा उल्लेख छ । त्यो प्रसंगले जसरी खस जातिको उत्पत्ति ककेसस पर्वत श्रृङ्खला वरपर भएर मध्य एशिया हुँदै दक्षिण एशियातिर  स्थानान्तरित र विस्तारित हुदै नेपालमा आइपुगेको हो, त्यसैगरी मष्ट धर्मको उत्पत्तिस्थल पनि त्यतैतिरको हो भन्ने प्रमाणित गर्दछ । क्रिजिकिस्तानमा भिक्षुहरुलाई धर्मप्रचरमा मष्टोधर्मीहरुले अवरोध पु¥याउनुको अर्थ त्यतिखेर मष्ट धर्म मध्यएशियामा अस्तित्वमा थियो भन्ने प्रमाणित हुन्छ ।

खस जातिले आफ्नो जातिसंस्कृति बिर्सिसकेको थियो । माओवादी आन्दोलनको दशकमा नेपालमा रहेका अनेकौं जाति जनजातिहरुमा आफ्नो पहिचान खोजीगर्ने चेताना जाग्यो । त्यतिखेरसम्म पनि खस जाति मस्त निद्रामै थियो । जब आन्दोलनको समाप्ति पछि जाति जनजातिहरुको पहचिान स्थापित हुने सम्भावना देखियो तब क्षत्रीको नाममा आन्दोलन उठ्यो । तर त्यतिबेलासम्म पनि त्यो आन्दोलनमा जातिचेत थिएन । त्यो जनजाति मधेसीमहरुको आन्दोलनबाट आफ्नो वर्चस्व गुम्ने गलत चिन्तनको सहमा उल्केको भावना मात्र थियो । कोइला खानीबाट हिरा निस्कन्छ भनेजस्तो क्षत्रीको नाममा उठेको आन्दोलबाट खस पहिचानरुपी चेत जन्मियो । खस र आर्य एउटै होइन । जातिगत हिसाबले फरक हो । आर्य र खसलाई एउटै क्लस्ष्टरमा राख्नु हुदैन । खस जातिले अलग परिचय पाउनुपर्छ । संविधान जारी भएपछि मात्र खसले अलग संवैधानिक मान्यता पाउनुपर्छ भन्ने माग उठाउनुपर्ने चेत खस जातिमा जागेको हो । त्यसैको परिणाम स्वरुप खस अभियन्ताहरुले आसन्न जनगणना– २०७८ मा क्षत्री वर्ण परित्याग गर्नुपर्छ र जातिको नाम खस लेखाउनुपर्छ भनेर अभियान चलाउन थालेका हुन् ।

राणा शाहीले खसलाई क्षत्री वर्ण दिएको थियो । क्षत्री भनेको वैदिक वर्णविभाजनले दिएको नाम होे । आर्यइतर जाति हो भने खसको मौलिक धर्म संस्कृति कुन हो भन्ने प्रश्न उठ्ने नै भो ।  क्षत्री भन्नासाथ हिन्दू धर्मसंग साइनो जोडिने नै भयो । क्षत्री होइन भन्नुको अर्थ हिन्दू धर्मसंगको नातो स्वतः तोडिने अवस्था आयो । त्यसैले हिन्दू होइन भने खसको धर्म के हो ? संस्कृति कुन हो ? परम्परा र संस्कारहरु के हुन् ? जन्मदेखि मृत्युसम्म गरिने संस्कारहरु के हुन् भन्ने प्रश्न उठ्ने नै भए । तिनै प्रश्नहरुको उत्तर खोज्ने सन्दर्भमा मष्ट धर्म अघि आएको हो । पुरातन धर्म मष्टको खोजी हुन थालेको हो । खसहरुको मौलिक धर्म मष्ट थियो भनेर भन्नु परेको हो । उक्त धर्म अन्तर्गतका परम्परागत संस्कारहरुको खोजविन गरेर एकत्रित गर्नुपर्ने र समाजका अगाडि राख्नुपर्ने आवश्यकता देखिएको हो ।

यद्यपि धर्म स्वेच्छिक विषय हो । व्यक्ति वा समुदाय अथवा समाज धर्मको मामलामा स्वतन्त्र हुन्छ । जुनसुकै धर्म संस्कृति अवलम्वन गर्न समाज र व्यक्ति स्वतन्त्र रहन्छ । धर्म मान्न वा नमान्न पनि स्वतन्त्र छ । विश्वमा धर्मबाट असंलग्न अर्थात निरपेक्ष रहने वा पृथक रहन चाहने मानिसहरुको संख्याले २७ प्रतिशत नाघिसक्यो भनिन्छ । तर हाम्रोजस्तो धर्मभिरु र पिछडिएको समाज धर्मनिरपेक्ष रहन सक्दैन । त्यस्तो चेतना जागिसकेको हुदैन । हरेक समाजमा संस्कार परम्परा र रीतिरिवाजहरु रहेका हुन्छन् । ती संस्कार परम्पराहरु धर्मसंग जोडिएका हुन्छन् । पहाडी खस जाति आर्य होइन । खसले क्षत्री वर्ण त्याग्नुको अर्थ हिन्दू धर्मबाट अलग रहनु हुन्छ । क्षत्री रहनुको अर्थ हिन्दू हुनु मात्र होइन, आफूलाई आर्य मान्नु पनि हो । खस हुनुको अर्थ हिन्दु धर्मबाट अलग भैहाल्नुपर्छ भन्ने त होइन तर नेपाली समाजमा एउटा अप्ठेरो छ । नेपालमा खस र क्षत्री पर्यायको रुपमा प्रयोग हुँदै आएको छ । हिन्दू धर्मावलम्बी खस भन्नुको अर्थ क्षत्री भन्ने हुन जान्छ । त्यसैले जबसम्म क्षत्रीबाट पारपाचचुके हुदैन तवसमम खसको मौलिक पहिचान स्थापित हुन सक्दैन ।

खस आर्य होइन र उसको मौलिक र परम्परागत धर्म हिन्दु पनि होइन । जातिगत रुपमै बुद्धधर्म अवलम्वन गरेको कुरा इतिहास प्रमाण छ । त्यसपूर्व अर्थात खसहरुको धर्मान्तरणपूर्व खस समाजमा मौलिक धर्म थियो र त्यसको नाम मष्ट थियो । मष्ट नयाँ सिजृना गरिएको नाम होइन । साँचो कुरा गर्ने हो भने मष्टको शाब्दिक अर्थ के हो भन्ने कुरा पनि आज प्रयोग गरिने भाषाले दिन सक्दैन । जसरी क्रिष्टियानिटीले गड, इस्लामले अल्लाह र हिन्दू धर्मले इश्वर भन्छ त्यही अर्थ र मान्यतामा खस जातिले मष्टको प्रयोग गर्दै आएको हो । मष्टा भनेको खस जातिको गड हो, इश्वर हो । फरक कति मात्रै हो भने मष्ट मान्यतामा न कुनै सृष्टिकर्ता छ न कुनै स्वर्ग, नर्क, परलोक र पुनर्जन्मको मान्यता छ । मष्ट लोकपालक देवता हुन ।  जगत कल्याणकारी देवता हुन् । खस समाजमा मष्टालाई कुलदेवताको रुपमा पुजिन्छ । खस जातिको एकमात्र र सबभन्दा ठूलो पर्व मष्ट पूजन हो । त्यसैले अन्य जातजातिका विशिष्ट तिथिपर्वलाई जस्तै मान्यता खसको मष्ट पूजन तिथि अर्थात जेष्ठीपूर्णिमाले पाउनुपर्छ । दिइनुपर्छ । जेष्ठी पूर्णिमा गैडु पूजा तिथिको रुपमा पनि परिचित छ । मष्टपूर्णिमाको रुपमा पनि समाजले मान्यता दिने परम्परा थियो भन्ने कुरा वनारसबाट प्रकाशित हुने प्राणनाथ त्रिपाठीकृत हिमाल पञ्चाङ्गमा प्रारम्भदेखि नै उल्लेख हुँदै आएको छ । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here