काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चेतावनी दिएको छ । अनेरास्ववियू (क्रान्तिकारी)ले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि अविलम्ब फिर्ता लिन चेतावनी दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।
‘सरकारले फेरि पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा प्रतिलिटर २–२ रुपैयाँको दरले मूल्यवृद्धि गरेर नेपाली जनताको ढाड सेक्ने काम गरेको छ,’ अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रोग र भोकबाट प्रताडित जनताप्रति जवाफदेही हुन नेपाल सरकारलाई हार्दिक अपिल गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, आयल निगम र सम्बन्धित निकायसमक्ष हार्दिक अनुरोध गर्दछौं । अन्यथा, सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।’



















